`

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

Nepal One HD २२ कार्तिक २०८२ १८:३०
समाज

काठमाडौँ, २२ कात्तिकः ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बाग्मतीको गोठाटार पहेँलो पुल क्षेत्रमा सफाइ गरी नकुहिने करिब साढे चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइ महाअभियानका ६५२औँ हप्तामा आज गोठाटार नयाँबस्ती पहेँलो पुल क्षेत्रको बाग्मतीमा सफाइ गर्दा धेरैजसो नकुहिने फोहर नदीमा फालेको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख प्रकाश अर्याल, गोकर्णश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीलगायत ५० जना अभियानकर्मीको सहभागिता थियो । सफाइबाट उठाइएको फोहर गोकर्णेश्वर नगरपालिकाको ट्रकमा राखी व्यवस्थापन गरिएको शाहीले बताउनुभयो ।

अर्को साता (कात्तिक २९ गते)को सरसफाइ कार्यक्रम सोही नगरपालिकाको जम्बो डाँडा, प्रहरी अघिको बाग्मती नदी किनार र पारिपट्टिको गोठाटार क्षेत्रमा गरिने माथिल्लो बाग्मती सफाइ अभियानका अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सञ्चालन हुँदै आएको छ । जाडो, बर्सात्, चाडपर्व, विपद् जस्तोसुकै अवस्थामा पनि सफाइ महाअभियान निरन्तर चलिरहेको छ । यो महाअभियान विश्वमा लामो अभियानका रूपमा अघि बढेको दाबी गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यो महाअभियान सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *