भारतीय कम्पनी पीटीसीसँगको सम्झौताबारे भ्रम फैलाइयो : ऊर्जामन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँद यामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन् । यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको उनले दावी गरेका छन् ।
आइतबार उनले भनेका छन्, ‘आगामी हिउँद यामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे केही भ्रम फैलाइएको देखिएको छ । म स्पष्ट भन्न चाहन्छु– यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको हो ।’ उनका अनुसार नदी प्रवाहमा आधारित हाम्रो प्रणालीमा वर्षायाममा निर्यात र सुक्खा याममा केही परिमाणमा आयात आवश्यक छ ।
‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास बमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रुपैयाँसम्मको महँगो विद्युत् आयात गर्नुपर्ने बाध्यता हटेको छ । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानुपर्ने र विद्युत् नपाउने जोखिम थियो । यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो । भ्रममा नपरौँ’, उनले भनेका छन् ।
