जनकपुरबाट दक्षिण अफ्रिकाका इमरान ताहिरले एनपीएल खेल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने भएका छन् । मंसिर १ बाट सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिन ताहिरलाई अनुबन्धन गरेको हो । ताहिरसँग झण्डै १ हजार खेलमा झण्डै २ हजार विकेट लिएको अनुभव छ । पाकिस्तानमा जन्मिएका ४६ वर्षीय ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एक दिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी २० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन् । उनले सबैखाले ४४६ टी २० मा ५७० विकेट लिएका छन् ।
उनी २०११ को एकदिवसीय विश्वकपमा वेस्ट इण्डिजसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । उक्त खेलमा उनले ४ विकेट लिएका थिए । ताहिरलाई समावेश गरेपछि जनकपुर बोल्ट्सले आफ्नो बलिङ विभाग अझ मजबुत भएको जनाएको छ ।
‘विश्व क्रिकेटमा परिचित नाम इमरान ताहिरको आगमनले हाम्रो टिममा अनुभव, ऊर्जा र विश्वस्तरीय स्तरको आत्मविश्वास थपेको छ । हामी विश्वास गर्छौं, उनको उपस्थितिले हाम्रो युवा टोलीलाई अझ प्रेरित गर्नेछ,’ ताहिरलाई अनुबन्ध गरेपछि जनकपुर बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले भने ।
उनले थपे, ‘जनकपुर बोल्ट्सले यसअघि पनि अन्तर्राष्ट्रिय खेलाडीहरूलाई स्वागत गर्दै नेपाली क्रिकेटमा व्यवसायीकता र प्रतिस्पर्धात्मकता बढाउदै आएको थियो । आगामी सिजनमा बोल्ट्स ‘बिल्ट फर भिक्ट्री’ को नारा लिएर मैदानमा उत्रिनेछ । ताहिरले इंग्ल्याण्डका ६ टिमबाट टी २०, दक्षिण अफ्रिकाका ३ फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका ३ फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन् । बोल्ट्सले यस सिजनको एनपीएलका लागि भित्राइएका ताहिर तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था र भेट्रान दक्षिण अफ्रिकी फास्ट बलर वायने पार्नेललाई अनुबन्ध गरिसकेको छ । वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ।
