पूर्व सहसचिव कार्कीलाई आठ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वको दरबारमार्गस्थित जमिनको लिज प्रकरणमा पक्राउ परेका पूर्व सहसचिव लेखबहादुर कार्कीमाथि अनुसन्धान गर्न आठ दिन म्याद थप भएको छ । जिल्ला अदालत, काठमाडौंमा पेश भएका कार्कीलाई थप आठ दिन प्रहरी हिरसातमा राखी उक्त प्रकरणमाथि अनुसन्धान गर्न प्राप्त भएको सिआईबी प्रवक्ता एसएसपी शिव श्रेष्ठले जानकारी दिए ।
नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा चलाइएको हो । चितवन जिल्लाको साविक श्रीपुर २, हाल भरतपुर महानगरपालिका– १५ बस्ने ६६ वर्षीया कार्की शनिबार पक्राउ परेका थिए । उक्त प्रकरणमा पक्राउ गर्नुपर्ने अन्य व्यक्तिको पनि पहिचान भइसकेको सिआइबीले स्रोतले जनाएको छ । थामसेर्कु ट्रेकिङ यति समूहअन्तर्गतको हो । कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् ।
उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले जानकारी दिए । संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । दरबारमार्गको कित्ता नम्बर–४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर–४६०५ समेत थप गरी लिजमा दिने र लिने विषयमा ट्रष्ट सञ्चालक समितिको निर्णय र आधारबिना वद्नियतपूर्वक लिजमा दिइएको सीआईबीले जनाएको छ । नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४।०२।१४ गते करार सम्झौता भएको सीआईबीको दावी छ ।
