‘जेनजी समूहहरु नै आईएनजीओ र एनजीओको ‘फण्डिङ’ ले चल्न थाले, एकता असम्भव’
काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङ केही जेनजी समूहहरुले आन्दोलनका मूल मुद्दा कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘ऐतिहासिक जेनजी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । जेनजी समूहहरुको विभागजन र स्वार्थी प्रवृत्तिका कारण जेनजी आन्दोलनको औचित्यमाथि नै शंका उत्पन्न हुन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरे ।
जेनजी प्रतिनिधि अबिन मेन्याङ्बोले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायत तीन वटा मुद्दा लिएर आन्दोलन सुरु गरिएको भए पनि केही जेनजी समूहहरु सत्ताकै पछि दौडिरहेको आरोप लगाए । उनले जेनजी आन्दोलनले उठाएका मागहरु पूरा गर्न आफूले एकताका लागि आह्वान गरेको भए पनि कोही जेनजी समूह वा व्यक्ति सहभागी नभएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने, ‘हामीले तीन वटा मुद्दा बोकेर आन्दोलन गरेका हौं । तीन जना मुद्दाबाट केही जेनजी अगुवा भन्नेहरुले चार वटामा किन सारिराखेको ? हामीले हिजो मात्रै पनि जेनजी समूहको एकताका लागि प्रयास ग¥यौं । सबैलाई आह्वान ग¥यौं कोही आउनु भएन । उहाँहरु स्वार्थी समूहहरु हो । उहाँहरु आउनु हुन्न । जेनजी भन्नेहरुलाई पार्टी, एनजीओ र आईएनजीओहरुले पछाडिबाट फण्डिङ गरेको छ । आयो भने भोलिको दिनमा फण्डिङ रोकिन्छ । त्यसकारण एकता सम्भव छैन । यदि एकताका लागि सबै जेनजी समूहहरु आउनु हुन्छ भने हामी एकताका लागि तयार छौं ।’
जेनजीकी अर्की प्रतिनिधि अञ्जु राईले आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुन नहुने धारणा राखे । उनले २०८४ सालमा हुने आवधिक निर्वाचनलाई २०८२ सालमा गर्नको लागि मात्र आफूहरुले आन्दोलन नगरेको स्पष्ट पारे । उनले जेनजी आन्दोलनले उठाएका मागहरु सम्बोधन नभए फेरि आन्दोलनमा जाने चेतावनी समेत दिए । उनले जेनजी पुस्ताका माग सम्बोधन गर्न तथा शहीदका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रधानमन्त्रीलाई लिखित निवेदन दिएपनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाए ।
उनले भने, ‘२०८४ सालमा हुने चुनाव २०८२ मै गर्नको लागि त हाम्रा साथिहरु रगत बगाउनु भएको होइन । चुनाव मात्रै गरेर देशको अहिलेको समस्याहरु हल हुन्छन् त ? हाम्रा कतिपय साथीहरु जेनजीहरुको युनिफिकेसनको लागि कामहरु गरिरहनु भएको छ । यदि जेनजीले उठाएका मागहरु सम्बोधन हुने स्थिति भएन भने सबै जेनजी समूह मिलेर हामी फेरि आन्दोलन गर्नुपर्ने स्थिति आउनसक्छ । हामीले जेजनीका माग र शहीदलाई न्याय दिनको लागि प्रधानमन्त्रीज्यूलाई निवेदन दियौं तर उहाँहरुको आश्वासन फिक्का हुँदै गइरहेका छन् ।’
त्यस्तै, ज्योतिका फुर्केलीले जेनजी पुस्ता आपसी विभाजनको मार्गमा हिँडेकै कारण पुराना राजनीतिक शक्तिहरू शिर उठाउन थालेको बताइन् । उनले जेनजी आन्दोलनले निकास नपाए समाजमा जेनजी पुस्ता आतंककारी ठहरिने भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताइन् । उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजीबीको एकताको विकल्प नरहेको जिकिर पनि गरिन् ।
उनले भनिन्, ‘हामीले मुलुकको आमुल परिवर्तनको लागि आन्दोलन गर्यौँ । अहिले जेनजी अभियानहरु नै एकआपसमा बाँझिदा पुरानै राजनीतिक शक्तिहरु राज्य सत्तामा आउन तयारी अवस्थामा छन् । हामी जेनजीहरुलाई त उनीहरुले अहिले नै आतंककारी घोषणा गरिसकेका छन् । अहिले गाउँमा जेनजी भन्यो भने आतंककारी भन्ने स्थिति सिर्जना हुनुमा हामीहरुकै हात छ नि । त्यसैले अब हामी सबै एकजुट भएर जेनजी आन्दोलनका मागहरु पूरा गर्नतर्फ अगाडि बढ्नु पर्छ ।’ फुर्केलीले सबै जेनजी समूहलाई एकजुट भई मूल आन्दोलनका माग पूरा गर्नतर्फ लाग्न आह्वान समेत गरिन् ।
