‘सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयकहरु पारित गर्न सकिन्छ’
काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयकहरु पारित गर्न सकिने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उनीहरुले यस्तो बताएका हुन् ।
बैठकमा राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले सरकार तयार भए सभाबाट समितिमा आएका विधेयकहरुलाई छलफल गरेर टुङ्याउन सकिने बताए । सरकारले संसदमा विधेयकहरु ल्याईरहेको उल्लेख गर्दै उनले राष्ट्रिय सभा सञ्चालनको लागि सरकारले वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले राष्ट्रिय सभाबाट पारित भएर गएका विधेयकहरुको समय सीमा नहुने हुँदा प्रतिनिधि सभा शुरु बित्तिकै त्यहाँ छलफल गर्नेगरी तयारीमा राख्नसक्ने उल्लेख गरे ।
उनले भने, ‘विधेयकहरुको सन्र्दभमा सरकारले बसेर छलफल गरेर अब निर्वाचित भएर आउने राष्ट्रिय सभामा जान सरकार तयार हुन्छ भने हामी सभाबाट समितिमा आएका विधेयकहरुलाई छलफल गरेर टुङ्याउन सक्छौँ । सभा नै बस्यो भने त अरु थपघट गर्न पनि सक्यो । विधेयकहरु त फेरि सरकारले ल्याईराखेकै छ । विधेयकहरुलाई छलफल चलाउनको निम्ति उसले सहजीकरण गर्ने हो की होइन । राष्ट्रिय सभाबाट सबै काम सकेर किन भने राष्ट्रिय सभाबाट गएकाको म्याद त हुँदैन । प्रतिनिधिसभा शुरु बित्तिकै छलफल गर्नेगरि तयारीमा राख्न सक्छौ । त्यसमा चाहीँ सरकार तयार हुनुपर्यो ।’
जनता समाजवादी पार्टी, नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले राष्ट्रिय सभा भाषण गर्नको लागि मात्रै सञ्चालन गर्न नहुने बताए । उनले सभा सञ्चालनको लागि सरकारले विजनेस दिनुपर्ने बताए । उनले सभा सञ्चालन गर्नुभन्दा पहिले पूरा तयारी गर्नुपर्ने बताए । उनले सभा चलेको १५ दिनमा अन्त्य हुने अवस्था आए राम्रो नहुने बताए । बैठकमा सहभागी सबै सदस्यहरुले सरकारसँग समन्वय गरेर राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सांसदहरुले सभा संचालन गरेपनि सरकारले बिजनेस नदिनेतर्फ आशंका समेत व्यक्त गरेका छन् ।
