रास्वपाको समानुपातिक उम्मेदवारका लागि ५० हजार शुल्क, ‘मेरिट बेस्ड’ प्रणालीमा छनोट
काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीतर्फ उम्मेदवार छनोटका लागि नयाँ मापदण्ड लागू गरेको छ । पार्टीले समानुपातिक उम्मेदवारका इच्छुकहरूबाट ५० हजार रुपैयाँ आवेदन शुल्क लिने निर्णय गरेको छ ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । पार्टीका सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा बनेको समितिले उम्मेदवार छनोटका कानुनी र आन्तरिक मापदण्ड तयार पारेको छ । आचार्यका अनुसार उम्मेदवार बन्न इच्छुकले वैध आयस्रोतको प्रमाण, सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, र द्वेषपूर्ण अभिव्यक्ति नदिने आचारसंहिता मान्नु पर्नेछ । ‘हाम्रो मापदण्ड पात्रता, पारदर्शिता र आचरणमा केन्द्रित छ । उम्मेदवार योग्य र निष्ठावान् हुनुपर्छ’, उनले भने ।
रास्वपाले यसअघि रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारका लागि २५ हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो । तर यस पटक शुल्क दोब्बर बढाएर ५० हजार राखिएको छ । विशेष कुरा के भने–समानुपातिकको बन्द सूचीमा परेपनि अन्ततः सांसद नबन्ने अवस्थाको सम्भावना भएपनि बुझाइएको रकम फिर्ता नहुनेछ ।
रास्वपाले अघिल्लो आम निर्वाचनमा समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनेकाहरूलाई यस पटक उम्मेदवार हुन नदिने निर्णय गरेको छ । पार्टीले नेतृत्व विकास र नयाँ व्यक्तित्वको प्रवेशलाई प्राथमिकता दिने नीति लिएको छ । समानुपातिक उम्मेदवार छनोटका लागि पार्टीले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, र अन्य मूल्यांकन सूचकहरू प्रयोग गर्ने तयारी गरेको छ । सातै प्रदेशबाट प्रतिनिधित्व हुने उम्मेदवार मूल्यांकन समिति गठन गरी अंक प्रणालीका आधारमा अन्तिम सूची तय गरिने आचार्यले बताए ।
‘हामी एक किसिमको प्रारम्भिक आन्तरिक निर्वाचन जस्तो प्रक्रिया अपनाउँदैछौं’, उनले भने, ‘समितिले विभिन्न विधिबाट प्राप्त अंकको औसतका आधारमा अन्तिम सूची निकाल्नेछ ।’ यसैबीच, निर्वाचन आयोगले पनि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेश गर्न राजनीतिक दलहरूलाई दुई दिनको समय दिने तयारी गरेको छ । प्रारम्भिक कार्यतालिका अनुसार पुस १८ र १९ गते दलहरूले आफ्नो बन्द सूची पेस गर्न सक्ने छन् । आयोगले आवश्यकता अनुसार यो मिति समायोजन गर्न सक्ने जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा अधिकांश दलहरूले समानुपातिक सूची तयार गर्ने अन्तिम चरणमा प्रवेश गरिरहेका छन् । रास्वपाले भने समयमै तयारी थाल्दै स्पष्ट मापदण्डसहित आवेदन खुला गरेर अन्य दलभन्दा सक्रियता देखाएको छ ।
