`

मधेस प्रदेश : मुख्यमन्त्री कार्यालयमा ताला, कर्मचारी कुटिए

Nepal One HD २४ कार्तिक २०८२ १३:३४
अर्थ समाचार

काठमाडौँ । मधेस प्रदेशमा सरकार गठन आह्वान नै नगरी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै विपक्षीहरू तोडफोडमा उत्रिएका छन् । सोमबार बिहान ४ बजे आसपास महोत्तरीको बर्दिवास ३ कालापानीमा रहेको पानस कटेजमा मुख्यमन्त्री पदमा निुक्तिसँगै शपथ गराइएको भन्दै नेपाली कांग्रेससहित विपक्षी दलका प्रदेशसभा सदस्यहरू तोडफोडमा उत्रिएका छन् ।

मुख्यमन्त्री यादवलाई उनीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन् । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाइदिएका छन् । विपक्षी दलका नेता तथा सांसदले मुख्यमन्त्री कार्यालयका केही कर्मचारीलाई कुटपिटसमेत गरेको भिडिओ सार्वजनिक भएकव छ । मुख्यमन्त्री कार्यालयको साँचो नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धनले राखेको छ । यस्तै, जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा पनि बाहिर गमलालगायत तोडफोड गरेर तालाबन्दी गरिएको छ ।

संविधानानुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान नै नगरी बिरामी भएको बताउँदै काठमाडौं जान्छु भनेर हिँडेर बाटोमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुखविरुद्ध उनीहरू आक्रोशित देखिएका छन् । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ ।

त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ । कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकाल्छन् । मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरू एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोधमा छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।

तर महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् । यो घटनापछि मधेशको राजनीति तरंगित भएको छ । यसमा असन्तुष्ट दलहरुले आलोचना गरिरहेका छन् । निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई स्वायत्त घोषणा गर्ने मौका यही भएको बताएका छन् । डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *