प्रकाश शाहले एमाले छाडे, कहाँ जालान् प्रेम आले ?
काठमाडौं । एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले अन्ततः पार्टी त्यागेका छन् भने अर्का चर्चित नेता प्रेम आले भने अहिले पनि ‘राजनीतिक मौन’ मा छन् । शाहले एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ लागेको’ भन्दै भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमार्फत नव गठित नेपाली कम्युनिष्ट पार्टीमा जाने घोषणा गरेका छन्।
अघिल्लो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित शाह एमाले सुदूरपश्चिमका संसदीय दलका नेता थिए । उनले चार वर्ष आन्तरिक मामिला तथा कानुन तथा आर्थिक मामिला मन्त्रालयको नेतृत्व समेत गरेका थिए । शाहको निर्णयले सुदूरपश्चिमको एमाले संगठनमा नयाँ तरङ्ग ल्याएको छ।
तर, यसबीचमा एकीकृत समाजवादीका सांसद प्रेम आले भने कुनै पनि राजनीतिक मञ्चमा खुलेका छैनन्। डोटीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका आले न त माधवकुमार नेपालसँग मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भए, न त रामकुमारी झाँक्रीसहित एमालेमा फर्किए । आले नजिकका स्रोतहरूका अनुसार, उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओली दुबै नेताले पार्टी रोज्न आग्रह गर्दै टेलिफोन गरेका थिए । तर, आलेले दुबै नेतालाई ‘निर्णय गर्न बाँकी छ’ भन्ने जवाफ मात्र दिएका हुन् । आलेले अहिले आफू प्रोस्टेट शल्यक्रियापछि आराममा रहेको बताएका छन् । उनले भनेका छन्, ‘अहिले म कतै लागेको छैन । राजनीति धेरै फोहोर भएको महसुस गरेको छु । केही समयपछि मात्र निर्णय गर्छु ।’
उनले एमालेमा फर्किने सम्भावना अस्वीकार गर्दै भने, ‘एमालेमा जाने भए त म पहिले नै गइहाल्थें नि।’ पछिल्लो समय आले नेपाली कांग्रेसमा प्रवेश गर्ने सम्भावनाको पनि चर्चा चलेको छ, तर उनले त्यसबारे स्पष्ट जवाफ दिन मानेका छैनन् । ‘त्यस्तो त नहोला’, उनले छोटकरीमा भने । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित उनको निवासमा आगजनी भएपछि आले धनगढीमा बस्दै आएका छन् । उनी राजनीतिक रूपमा टाढा देखिए पनि डोटी र कैलाली क्षेत्रमा उनको बलियो जनसञ्जाल अझै कायम छ । उनका निकट नेताहरू भन्छन्, ‘आले डोटी नभए कैलाली–५ बाट पनि चुनाव उठ्न सक्ने स्थितिमा छन् ।’
राजनीतिमा लामो अनुभव भएका आले २०५४ सालमै डोटी जिल्ला विकास समितिका सदस्य बनेका थिए । २०७० र २०७४ सालमा संविधानसभा र प्रतिनिधिसभामा डोटीबाट निर्वाचित भएका उनले वन तथा वातावरण मन्त्री र पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व गरेका थिए। हालको राजनीतिक हलचलबीच शाहले नयाँ बाटो समातेका छन्, तर आले भने अझै ‘अवलोकन मोड’ मै छन्। शाहको निर्क्याेलपछि सुदूरपश्चिममा एमाले कमजोर हुँदै जाँदा, आले कुन दिशातिर मोडिन्छन् भन्ने जिज्ञासा अब नेपाली राजनीतिमा चासोको विषय बनेको छ।
