सुदन गुरुङको आरोप : गृहमन्त्री एमालेको जस्ताे लाग्न थाल्याे, माग पूरा नभए चुनाव असम्भव
काठमाडौं । जेनजी आन्दोलनका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि तीव्र प्रहार गरेका छन् । एकातिर सरकारले नेपाल स्काउटको जग्गा संरक्षणका नाममा संरचना हटाउने अभियान चलाउँदा, अर्कातिर आन्दोलनकारीका मागहरू बेवास्ता गरिएको भन्दै गुरुङले गृहमन्त्रीमाथि सीधा आरोप लगाएका हुन् ।
गुरुङले भने, ‘गृहमन्त्री अर्याल अहिले एमाले जस्तो लाग्न थालेका छन् । उहाँ हाम्रो आन्दोलनको बीचमा संविधानविद् भएर उपस्थित थिए, तर अहिले आएर चुनाव–चुनाव मात्रै भन्न थालेका छन् ।’ नेपाल स्काउटको जग्गामा बिहीबार बिहान भएको संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै उपस्थित भएका गुरुङले गृहमन्त्रीलाई कठोर चेतावनी पनि दिए । उनले जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म देशमा निर्वाचन हुनै नदिने चेतावनी दिए ।

‘हाम्रो एजेन्डा चुनाव होइन, न्याय र व्यवस्था परिवर्तन हो’, गुरुङले भने, ‘माग पूरा नभई कसरी चुनाव हुन्छ ? यो सबको जिम्मा गृहमन्त्री अर्यालले लिनुपर्छ । उहाँ जंगी अड्डादेखि शीतल निवाससम्म वार्तामा उपस्थित हुनुहुन्थ्यो । अहिले आएर ढाँट्ने कुरा गर्नुभयो भने हामीलाई यो ठुलो धोका हुनेछ ।’ गुरुङले गृहमन्त्रीले जेनजी कार्यकर्तामाथि दमन गरिरहेको तर राजनीतिक दलका व्यक्तिहरूलाई नछोएको आरोप समेत लगाए । उनले भने, ‘उहाँले जेनजीहरूलाई समातिराख्नु भएको छ, तर राजनीतिक नेताहरूलाई केही भन्न सक्नु हुन्न । मलाई त कहिलेकहिले लाग्छ-गृहमन्त्री ज्यू एमालेकै मान्छे हुन् कि ?’
उनका अनुसार जेनजी आन्दोलनले वडास्तरसम्म संरचना विस्तार गरिसकेको छ र नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छ । ‘हामी दुई महिनादेखि संयमित छौं, तर अब नयाँ योजना ल्याउनेछौं’, उनले भने, ‘यदि मागहरू पूरा भएनन् भने गृहमन्त्रीलाई चैन मिल्ने छैन, चुनाव असम्भव हुनेछ ।’ गुरुङको यस्तो चेतावनीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारभित्र फेरि राजनीतिक तनाव चुलिएको संकेत गरेको छ । एकातिर सरकार निर्वाचन तयारीमा व्यस्त छ भने अर्कातिर जेनजी आन्दोलनले ‘न्याय बिना चुनाव हुँदैन’ भन्ने अडान कडा पार्दैछ ।
