जनार्दनको प्रगतिशील अभियानको आरोप : प्रचण्डले नेकपा नामको वृद्धाश्रम बनाए, सहकार्य हुँदैन
काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किराँतीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसँग आफूहरूको कुनै सहकार्य नहुने स्पष्ट पारेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै उनले प्रचण्डले नेकपा नामको वृद्धाश्रम बनाएको आरोप लगाए । देशको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्ने, भ्रष्टाचारको अन्त्य गर्न चाहने सबै शक्तिहरूसँग आफूहरूले सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
उनले भने, ‘नेपालको कानुनमा ७० वर्ष माथिकालाई वुद्धाभत्ता छ, ७० वर्ष वृद्धाहरूको वृद्धाश्रम जस्तो भएको छ त्यो उहाँहरूको पार्टी, आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको हो । त्यो मुद्दालाई नबोकेकाले सहकार्य हुँदैन ।’ उनले इतिहासमा प्रचण्डले गरेका राम्रा कामहरूप्रति सम्मान रहेको बताएका छन् । बहुमतको डण्डा चलाएर पार्टी एकताको नाममा कब्जा गरेपछि आफूहरूले बेग्लै अभियान थाल्न बाध्य भएको बताए ।
‘फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन’
पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २१ मा कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने बताए । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको बताए । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उनको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्षयता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताए ।
उनले भने, ‘फागुन २१ गते कुनै पनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनै पर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रुपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकतावद्ध भएर बिदा गर्नेछौँ ।’ किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताए । आजको आवश्यकता रुपान्तरण र पुस्तान्तरणको भएको उनले बताए । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीदलगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको आरोप लगाए ।

