रास्वपा छाडेका सन्तोष परियार जनार्दनसँग छलफलमा, रास्वपाले दियो शुभकामना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल थालेका छन् । नयाँ अभियान सुरु गर्ने भन्दै रास्वपा परित्याग गरेका परियार र शर्माबीच अहिले छलफल भइरहेको छ । ‘अहिले सन्तोष परियार र जनार्दनजी सँगै हुनुहुन्छ, उहाँहरूबीच छलफल भइरहेको छ,’ स्रोतले भन्यो । परियारले शर्माको अभियानमा जोडिनका लागि रास्वपा परित्याग गरेको स्रोतले जनाएको छ ।
परियारले पार्टीमा आन्तरिक कहल व्याप्त भएको भन्दै आजै रास्वपा छोडेका छन् । प्रतिनिधिसभामा रास्वपाको तर्फबाट प्रमुख सचेतक भएका परियार पार्टीमा सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए । परियारले पार्टीलाई नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टी बनाउन नसकेकोमा आफू दुःखी रहेको बताएका छन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु । नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु ।’
रास्वपाले भन्यो–उहाँलाई शुभकामना
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय सदस्य सन्तोष परियारले पार्टी छोडेको जानकारी गराएको छ । परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई भेटेर राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनु भएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ,’ झाले भने, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना ।’

