बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोबबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
उनीहरूबीच ललितपुरमा भएको लामो वार्तापछि सहकार्य गरेर अगाडि बढ्न पाँच बुँदे सहमति भएको हो।
सहमतिपछि जारी गरिएको पत्रअनुसार नेपालको राजनीतिक समग्र पुनर्संरचना गर्ने लक्ष्यसहित नेपाल समाजवादी पार्टी नयाँ शक्ति प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियार एक मत भएको उल्लेख छ ।
सहमतिमा एकता तथा ध्रुवीरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने उल्लेख छ। सहमतिमा मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको बताइएको छ।
एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने भएका छन्।
देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन्। भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न समेत अपिल गरेका छन्।

