दलको संख्या १२२ मा झर्यो : चुनाव घोषणापछि सात दल थपिए, सात वटा खारेज
काठमाडौं । देशमा संघीय निर्वाचनको माहोल तात्दै गर्दा निर्वाचन आयोगमा राजनीतिक दलहरूको दर्ता–खारेजी प्रक्रियामा ठूलो हलचल भए पनि कुल संख्या भने १२२ मै स्थिर बनेको छैन । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित पाँच दल एकीकृत भएर नयाँ दल– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएपछि ती पाँचै दल खारेज भएका छन् । यससहित यो अवधिमा जम्मा सात दल खारेज भए—एक अदालतको आदेशमा तथा ६ दल आफ्नै पदाधिकारीको निवेदनमा ।
यतिबेला आयोगले सात नयाँ दललाई दर्ता प्रमाणपत्र दिँदै कुल संख्या फेरि १२२ कायम गरेको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि यति नै संख्या थियो, आज पनि यही छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, खारेज भएका जति दल थपिएका कारण दर्ता दलको संख्या स्थिर छ । यसबीच, नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा पुगेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिने तयारी भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय जेनजी पार्टीका प्रतिनिधि किरण विकले दिएको दर्ता निवेदन भने फिर्ता लिइसकेको आयोगले बताएको छ । हाल आयोगमा दर्ताको प्रक्रियामा रहेका दलको संख्या २८ छ । कोही कागजात रुजुमा छन्, कोही सनाखतको चरणमा । सनाखत र कागजात दुरुस्त भएपछि मात्रै दर्ताको अन्तिम निर्णय हुने आयोगको भनाइ छ । आयोगले अहिले प्रक्रियामा रहेका दल जेनजी समूहका हुन् वा अन्य को हुन् भन्ने छुट्टै वर्गीकरण भने गरेको छैन ।
