`

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

Nepal One HD १ मंसिर २०८२ १४:२८
प्रमुख खबर
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो । इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो ।
यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्वपूर्ण छन् । हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ । ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ । उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ ।
शनिबार अबेर रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् । हसिनाको अवामी लिग पार्टीले विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भन्दै आह्वान गरेको देशव्यापी बन्दपछि ढाका तथा अन्य ठाँउमा अर्धसैनिक सीमा रक्षक तथा प्रहरी बल तैनाथ गरिएको छ ।
अभियोजनकर्ताहरूले भारतमा रहेकी हसिना तथा पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन् । तेस्रो अभियुक्त पूर्व प्रहरी प्रमुख राज्यको साक्षी बनेकाले उनलाई सजायको सिफारिस गरिएको छैन । यही मुद्दाको फैसला आज सोमबार सुनाइने अपेक्षा गरिएको छ । हसिना र पूर्व गृहमन्त्रीमाथि सन् २०२४ को जुलाई–अगस्ट महिनामा भएको विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गरेको आरोपमा अनुपस्थितिमै मुद्दा चलाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी रिपोर्टअनुसार घटनामा एक हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ ।
गत हप्ताको बन्दपछि देशभर कच्चा बम विस्फोट र आगजनीका घटनामा वृद्धि भएपछि न्यायाधिकरणले सोमबारका लागि फैसला तय गरेको थियो । राजधानीमा कक्षाहरू, सार्वजनिक यातायात तथा औपचारिक गतिविधिहरूमा व्यापक अवरोध परेको थियो । सोमबार बिहान फैसलाको तयारी भइरहँदा अवामी लिगले पुनः बन्दको आह्वान गरेको छ र हसिनाले अडियो सन्देशमार्फत समर्थकहरूलाई ‘फैसला बारे नर्भस नहुन’ आग्रह गरेकी छन् । चार दशक लामो राजनीतिक यात्रामा उनी कम्तीमा १९ पटक हत्याको प्रयासबाट बचेको इतिहास छ ।
यहीबीच, ढाकाका विभिन्न स्थानमा कच्चा बम विस्फोट भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यी मध्ये एक विस्फोट क्याबिनेट मन्त्रिस्तरका सल्लाहकारको निवास अगाडि भएको बताइएको छ ।  बढ्दो हिंसाका बीच ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले सवारीसाधन जलाउने वा कच्चा बम प्रहार गर्नेहरूलाई ‘देख्नेबित्तिकै गोली हान्ने’ निर्देशन जारी गरेका छन् ।  हसिना गत वर्ष अगस्ट ५ मा अपदस्थ भएपछि भारत पुगेकी थिइन् । उनको पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले अन्तरिम सरकार प्रमुखको रूपमा पदभार सम्हाल्दै हसिनालाई कानूनी सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तरिम सरकारले अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइरहेको छ । युनुसले आगामी फेब्रुअरीमा निर्वाचन गरिने र अवामी लिगलाई चुनावमा सहभागी हुन नदिइने बताउँदै बङ्गलादेशको राजनीतिक भविष्य ‘संक्रमणको संवेदनशील मोड’ मा रहेको संकेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *