`

प्रधानमन्त्रीको चेतावनी : भड्काउ अभिव्यक्तिमाथि शून्य सहनशीलता, तत्काल कारबाही

Nepal One HD १ मंसिर २०८२ १६:३६
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताएकी छन् । आज (सोमबार) नागरिक समाजका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको दावी गरिन् ।उनले निर्वाचनका दौरानमा द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति दिने जो–कोही भए पनि तत्काल कारबाही गरेर छोड्ने चेतावनी समेत दिइन् ।

‘युवा असन्तुष्टिको व्यवस्थापनसँगै, निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ । निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरूले तत्काल र सार्वजनिक कारबाही गर्नेछन् । शान्तिपूर्ण मतदान सुनिश्चित गर्न गुप्तचर परिचालन बढाइएको छ,’ उनले भनिन्,’ नागरिक खबरदारी झनै आवश्यक छ ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनको सफलतामा मात्रै मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर हुने बताउँदै यस पटक असफल भइयो भने देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा जाने चिन्ता व्यक्त गरिन् । उनले सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी गराउन निर्णायक भूमिका खेल्न नागरिक समाजका अगुवासँग आग्रह समेत गरिन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय नभएको स्पष्ट पारिन् । उनले भनिन्, ‘यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो । केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गर्दछु ।’

उनले निर्वाचनमा युवा सहभागिता बढाउन निर्वाचनसम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू अगाडि बढाइसकेको जानकारी दिइन् । ‘जेन–जी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषयु मात्र मानेका छैनौं । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौं । उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्,’ ‘यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *