`

बारामा एमालेका युवा र जेनजी युवाबीच झडप, ‘कर्फ्यू ’ जारी

Nepal One HD ३ मंसिर २०८२ १२:५१
प्रमुख खबर

बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा ‘ कर्फ्यू’ आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ। एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।

सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भनाभान भएको थियो । त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो । झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ । युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजन गरेको छ । कार्यक्रम सम्बोधन गर्नका लागि एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन्। उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन् ।

सीडीओ धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि–पथलैया सडकको दायाँबायाँ ५ सय मिटर र विमानस्थल वरपर ५ सय मिटरसम्म  कर्फ्यू कायम गरिएको उल्लेख छ । एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई छेक्न सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन–जी समूहले सडकमा टायर बालेका हुन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । जेनजी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ । सिमराको स्थिति प्रहरीको नियन्त्रणमै रहने र सुरक्षा व्यवस्था मिलाइएको बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।
हेर्नुस्  कर्फ्यू आदेश

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *