बारा तनावग्रस्त : आक्रोशित समूहले सिमरा विमानस्थलको गेट तोड्यो
काठमाडौं । बारामा राजनीतिक तनाव चर्किदै जाँदा सिमरा विमानस्थल क्षेत्र बुधबार दिउँसो तनावग्रस्त बनेको छ । नेकपा एमालेका कार्यकर्तासँग सिमरा बजारमा झडप भएको केही समयमै आक्रोशित युवाहरूको समूहले सिमरा विमानस्थलको मुख्य गेट तोडेर भित्र छिर्ने प्रयास गरेको हो ।
विमानस्थलको मुख्य प्रवेशद्वारमा त्यतिबेला दुई जना मात्र प्रहरी तैनाथ थिए । भीडले फलामको गेट धकेल्दै अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेन । गेट भाँचिँदै प्रहरीमाथि खसेपछि केही युवाहरू विमानस्थलभित्र प्रवेश गरेका थिए । तर केहीबेरमै प्रहरीले उनीहरूलाई बाहिर निकालेर स्थिति नियन्त्रणमा लिन खोजेको थियो ।
नेकपा एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, भानुभक्त ढकालसहितको टोली युवा संघको कार्यक्रममा सहभागी हुन जिल्ला जाँदै गर्दा सिमरा बजार क्षेत्रमा स्थानीय युवा (जेनजी प्रदर्शनकारी) र एमाले कार्यकर्ताबीच झडप भएको थियो । नेताहरू विमानस्थल आइपुग्ने सूचना पाएपछि आक्रोशित समूहले गेट तोडेर प्रवेश गरेको प्रहरीको प्रारम्भिक विवरणमा जनाइएको छ । झडप र असामान्य भीडभाडका कारण विमानस्थल बन्द गरिएपछि महासचिव पोखरेलको टोली काठमाडौं विमानस्थलमै रोकिएको उनका स्वकीय सचिव सरोज रेग्मीले बताएका छन् ।

काठमाडौंबाट बाराको सिमरा उड्न लागेको जहाज रोकिएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत सवाररत बुध्द एअरको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरुले सिमरा विमानस्थलमा प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको हो ।
पत्रकार राजन कुइँकेलले उडान रोकिएपछि यात्रुहरु जहाजबाट ओर्लिनुपरेको बताएका छन् । ‘यसरी ओर्लनुपर्यो । जानुपर्ने काठमाडौंबाट सिमरा । सिमरा विमानस्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेपछि उडान नै रोकियो र यसरी विमानबाट ओर्लियौं’,उनले फेसबुकमा लेखेका छन्,‘विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायत नेता रहेको भन्दै प्रदर्शन गरिएकोले सुरक्षाका कारण विमान उड्न सकेन ।’
तनाव बढ्दै गएपछि बारा जिल्ला प्रशासन कार्यालयले दिउँसो १२ः३० बजेबाट बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षाको जोखिम उच्च भएको भन्दै तत्काल प्रभावबाट लागू गरिएको कर्फ्यूमा निर्दिष्ट क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, विरोध–प्रदर्शन, सभा, जुलुस तथा घेराउ पूरा रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट गरेको छ ।
कर्फ्यू लागू हुने क्षेत्रहरू
–गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ–बायाँ ५०० मिटर भित्र
–सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्रमा आवागमन निषेध
कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी–साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकट लिएर यात्रा गर्ने यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सार्वजनिक सुरक्षा प्राथमिकतामा रहेको बताउँदै सबैलाई कर्फ्यू आदेश कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।
