`

मंसिर १० सम्म सबै दल आयोगमा दर्ता गर्नु : प्रधानमन्त्री

Nepal One HD ३ मंसिर २०८२ १८:१९
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन् । आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन् ।

निर्वाचन आयोगमा १३२ दल दर्ता भएका छन् । फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन् । त्यस्तै सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन पनि बैठक राखिएको हो । छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने दलले अराजकता रोजेको ठहरिने बताइन् । उनले निर्वाचन प्रक्रियामा सहभागी हुन दलहरूलाई आग्रह गरिन् ।

‘म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु, मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनु होस् । यो समय सीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ,’ उनले भनिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *