रवि र छविको मुद्दामा आज पेसी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराध अभियोगसम्बन्धी मुद्दामा आज (बिहीबार) उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेसी तोकिएको छ ।गत हप्ता न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, मिसिल प्राप्त भएसँगै आज पेसी चढाइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
यसअघि नै अदालतले लामिछाने र जोशीको मुद्दालाई एकसाथ हेर्ने आदेश दिएको थियो । आज पेसी तोकिएसँगै दुवै पक्षका कानून व्यवसायीहरू बहसका लागि तयारीमा जुटेका छन् । उच्च अदालतको यो सुनुवाइले मुद्दाको भविष्य निर्धारण गर्ने भएकाले सबैको ध्यान यसमा केन्द्रित छ । आजको सुनुवाइले लामिछानेको राजनीतिक भविष्य र न्यायिक प्रक्रियामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ ।
