`

सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि लाग्यो कर्फ्यू

Nepal One HD ४ मंसिर २०८२ १३:०९
प्रमुख खबर

बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा ठूलो संख्यामा युवाको उपस्थिति रहेको छ ।

सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा परी दुवैतर्फका केही घाइते भएका छन् । झडपका क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ । ‘जेनजीको हिजोको प्रदर्शनको नेतृत्व गरेकाहरूसँगको समझदारीअनुसार हामीले दुई जनालाई पक्राउ गरिसकेका छौं । तर, आज पनि प्रदर्शन नरोकिएपछि हामीले सडक खुलाउन खोज्दा झडप भएको छ,’ इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले भने, ‘हामीमाथि चारैतर्फबाट आक्रमण भएपछि अहिले हामी पछि हटेका छौं । सडकमा प्रदर्शनकारी जम्मा भएर नारावाजी गरिरहेका छन् ।’

हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ । प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

हेर्नुस् कर्फ्यू आदेश

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *