नेपालमा रुख काट्नु भन्दा मान्छे काट्न सजिलो छ : मन्त्री घिसिङ
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ नेपालमा रुख काट्न भन्दा मान्छे काट्न सजिलो भएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज (बुधबार) आयोजना गरेको कार्यक्रममा देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको उनले बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले वन जंगलबारे बनाइएका कडा कानुनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताए ।
वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठूलो मात्रामा आयातमा निर्भरता बढाउनु परेको बताउँदै उनले भने, ‘आज एउटा रुख काट्नु र मान्छे काट्नुमा रुख काट्नलाई धेरै गाह्रो भएको छ । पाँच वर्षमा एउटा रुख काट्न गाह्रो छ । यस्ता ऐन कानून राखेर देश विकास हुँदैन । सबै कुरा चेन्ज गर्नुपर्छ । आगामी दिनमा नयाँ लिडरसिपले यो सबै कुरा चेन्ज गर्छ, गर्नुपर्छ । बंगलादेशले भुटानबाट ढुंगा र माटो ५०० ट्रक दिनको आयात गर्छ । हामी यहाँ ढुंगा माटो निकाल्न नै हुँदैन भनेर बसिरहेका छौं ।’ चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरको काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको भन्दै उनले आफ्नै वनमा रहेको कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको बताएका छन् ।
