`

विशेष महाधिवेशन रोक्नमात्र कार्यतालिका आएजस्तो नहोस्ः विशेष महाधिवेशन पक्षधर

Nepal One HD १६ मंसिर २०८२ ८:१९
प्रमुख खबर

काठमाडौँ-नेपाली कांगे्रसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकामा विशेष महाधिवेशन पक्षधरले सकारात्मक उपलब्धिका रूपमा लिँदै विशेष महाधिवेशन रोक्नमात्र यस्तो गरिएको हो भन्ने नबनाउन आग्रह गरेको छ ।

“विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबावस्वरूप यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमा महाधिवेशन गर्न खोजिएको हो ? समय क्रमले जवाफ दिने छ”, विशेष महाधिवेशन पक्षधरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका दुई हजार ४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४ दशमलव आठ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएपछि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । त्यो निवेदन केवल दबाबको अस्त्र मात्र नभई समयमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी फागुन २१ गते प्रतिनिधि सदस्यको निर्वाचनअघि कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु संवैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उल्लेख गर्दै वक्तव्यमा केन्द्रीय समितिले प्रस्ताव गरेको आगामी पुस २६–२८ को महाधिवेशन मिति पूर्वपार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमा अव्यावहारिक र अवैज्ञानिक देखिएको हस्ताक्षरकर्ताको नेतृत्व गर्नुभएका कांग्रेस नेता गुरुराज घिमिरेले बताउनुभयो ।

कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृङ्खलाहरू अवरूद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित रहनुका साथै विधानबमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य रहेको उहाँले बताउनुभयो । आगामी पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्यसमेत प्रष्ट नभएको हस्ताक्षरकर्ताको भनाइ छ । यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ ।

एकजुट भएर १५औँ महाधिवेशनलाई समयमा सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन पनि विशेष महाधिवेशन पक्षधर नेताहरूले समर्थक एवं शुभेच्छुकमा आग्रह गरेका छन् । यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनका लागि तयार रहनसमेत उहाँहरूले हार्दिकतापूर्वक आह्वान गरेका हुन् ।

१५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताको हस्ताक्षरको परिणाम भएकाले घिमिरेले सबै हस्ताक्षरकर्तालाई आभार प्रकट गर्नुभएको छ । पार्टीको समग्र सुधार, रुपान्तरण र पुनर्गठनका लागि सबैको साथ र समर्थन सधैँ रहिरहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *