ओखलढुङ्गामा पुनः महाधिवेशन प्रतिनिधि छनौट गर्न एमालेको निर्देशन
विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङ्गामा सम्पन्न महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया बदर गर्दै नयाँ रूपमा पुनः निर्वाचन अघि बढाउन निर्देशन दिएको छ । एकलौटी ढंगले प्रतिनिधि छानिएको भन्दै दर्ता भएका उजुरी, बहुसंख्यक इच्छुक उम्मेदवारको असहमति, पालिका कमिटीहरूका माग र प्रदेश तथा केन्द्रीय निर्देशन उलङ्घन भएको निष्कर्षपछि निर्वाचन प्रक्रिया अस्वीकार्य ठहर गरिएको हो ।
केन्द्रीय कार्यालयले १६ मंसिरमा जारी पत्रमार्फत ओखलढुङ्गा जिल्ला कमिटीलाई सबै पालिकामा मतदान केन्द्र स्थापना गरी पाँच दिनभित्र पुनः निर्वाचन सञ्चालन गर्न भनिएको छ । यसका लागि आम सदस्यसम्म प्रभावकारी सूचना प्रवाह गर्न तथा चुनावी तयारी पूरा गर्न स्पष्ट निर्देशन पनि दिएको छ । पुनः निर्वाचन सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राईसहित केन्द्रीय नेता विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई समन्वय भूमिकामा तोकिएको छ ।
शनिबार सम्पन्न प्रतिनिधि छनोटमा जिल्ला सदरमुकाममा मात्रै मतदान केन्द्र राखिएकाले निर्वाचन ‘एकलौटी’ भएको आरोप लगाउँदै आठमध्ये छवटा पालिका कमिटीले असन्तुष्टि व्यक्त गरेका थिए । ओखलढुङ्गामा अम्बिरबाबु गुरुङ र यज्ञराज सुनुवार समूहबीच प्रतिस्पर्धा तीव्र रहेको अवस्थामा केन्द्रीय पार्टीले गरेको हस्तक्षेपलाई नैतिक व्यवस्था कायम गर्न आवश्यक कदमका रूपमा लिएको बताइएको छ ।
यद्यपि सम्पन्न निर्वाचनमा ईश्वर पोखरेल समूहले ‘क्लिन स्विप’ गरेको घोषणा गरिएको थियो । १२ पदका लागि ४१ उम्मेदवार प्रतिस्पर्धामा रहेकामध्ये खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत; महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ; युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे निर्वाचित भएका थिए ।
कुल ७,१३५ मतदातामध्ये १,५१८ जनाले मात्रै मतदान गरेका कारण परिणामको वैधताबारे प्रश्न उठिरहेको थियो । यसअघि नै कोसी प्रदेश कमिटीले ओखलढुङ्गाको मतदान प्रक्रिया अस्वीकार्य भएको सार्वजनिक गर्दै त्यहाँ करिब १५ प्रतिशत मत खस्नुका साथै आन्तरिक विवाद नसल्किएको कारण परिणाम मान्य नहुने ठहर गरेको थियो । अब केन्द्रीय निर्देशनअनुसार पाँच दिनभित्र सबै पालिकामा मतदान केन्द्रसहित नयाँ प्रक्रिया अघि बढाइनेछ, जसपछि मात्र ओखलढुङ्गाका प्रतिनिधिहरू महाधिवेशनमा सहभागिताको लागि आधिकारिक रूपमा चयन हुनेछन् ।

