सरकारलाई सांसदहरुको प्रश्न : बुल्गेरियाबाट हतियारसहितको कार्गो भित्रिएको कुरा के हो ?
काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ मागेका छन् । बुधवार विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ माग गरेका हुन् । उनले जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ गरेर विध्वंश गर्ने टिओवी संस्थासहितका नक्कली नागरिकता रहेकाहरुलाई कहिले डिपोर्ट गरिन्छ ? भन्दै प्रश्न समेत गरे ।
उनले नक्कली नागरिकता भएकाहरुलाई तत्काल डिपोर्ट गर्न पनि माग गरे । उनले भारतबाट आउने पेट्रोल पाइपलाइनबाट आउने गरेकोमा कमिसनका लागि अहिले ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ भएर जुन विध्वंश भयो, यो टिओबी ग्रुपसहितका नक्कली नागरिकता भएकालाई कहिले डिपोर्ट गरिन्छ ? डिपोर्ट तुरुन्त गरियोस् । बजारमा व्यापक चर्चा भएको हतियारसहितको कार्गो नेपाल भित्रियो भन्ने छ । यो विषय के हो ?’
उनले भने, ‘बुल्गेरियाबाट सैन्य कार्गो आएको भन्ने छ । भारतबाट आउने पेट्रोल लाइनबाट आइरहेको छ तर यो कमिसनको खेलमा ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको छ । यसको कारबाही कहिले हुन्छ ? कृषि मल खरिदको लागि २८ अर्ब ८२ करोड यस वर्षमा बजेट निकासा गरिएको छ । तर नेपाल सरकारले ५० करोडको मल कारखाना स्थापना गर्न सक्दैन । नेपालभित्र ५० करोडको लागनी गरेर मल कारखाना खोल्न किन सक्दैनौँ ।’ राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सरकार परिवर्तन भएर मात्रै नपुग्ने भन्दै कर्मचारीतन्त्रमा परिवर्तन आउन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरु जनताप्रति गम्भीर रहेको विश्वास गरेको भए पनि सरकारी सेवामा सुस्तता आइरहेको बताए ।
उनले भने, ‘सरकार मात्रै परिवर्तन भएर भएन । कर्मचारीमा पनि परिवर्तन आउनु पर्छ । सात दिनभित्र हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भनेर आउनु पर्ने थियो । हाम्रा प्रधानमन्त्री, हाम्रा मन्त्रीहरु जनताप्रति असाध्यै गम्भीर हुनुहुन्छ भन्ने लागेको छ । तर जनताका कामहरु किन यसरी रोकिरहेका छन् ? किन यस्तो भइरहेको छ ? निराशा र आक्रोश हामीमा पनि पैदा भइरहेको छ ।’ उनले राष्ट्र विकासका लागि सबै एक भएर काम गर्न जरुरी रहेको बताए ।
