कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने
काठमाडौं । नेपाली कांग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आउँदो निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रष्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो । ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनु भएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’
यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ । यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत कांग्रेसले उम्मेदवार बन्न रोकेको छ ।
क्रियाशील सदस्यता टुङ्गो लगाउन दुई दिनभित्र देशभर फाराम पठाउन निर्देशन
यसैबीच कांग्रेसले १५ औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी अगाडि बढाएको छ । महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् ।
समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘हामीले अब दुई दिनभित्र नयाँ सदस्यताको फर्म देशभर पुर्याउँछौं । जनसंख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै हामीले सम्पन्न गराउँछौँ ।’ सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने बताए । भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको जानकारी दिए । महामन्त्री थापा संयोजक रहेको समितिमा स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।
