`

साहब आलमको ह्याट्रिकमा पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

Nepal One HD १८ मंसिर २०८२ १५:३५
खेलकुद

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ । आजको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट भयो । पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा काठमाडौँका शाहब आलमले ह्याट्रिकसहित छ विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । काठमाडौँका बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । बेन ६४ र भीम ५५ रनमा आउट भए ।

पोखराका धनञ्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे । यो जितसँगै काठमाडौँ १० अङ्कसहित प्लेअफमा पुग्दा पोखराले छ खेलबाट चार अङ्क जोडेको छ । पोखराले अब एक खेल खेल्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *