कांग्रेसका यादव मधेशको छैटौं मुख्यमन्त्री नियुक्त
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । योसँगै मधेशले छैटौं मुख्यमन्त्री पाएको छ । प्रदेशमा नेपाली कांग्रेसले भने पहिलो पटक मुख्यमन्त्री पाएको छ । यादवले ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका थिए । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित उनले दाबी पेस गरेका हुन् ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा ३ जना सांसद निलम्बनमा छन् । त्यसैले सरकार बनाउन तत्काल कायम रहेका १०४ सदस्यको बहुमत ५३ जनाको समर्थन चाहिन्छ । गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने आजै सहमति गरेका थिए । जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेका छन् ।
