सुदूरपश्चिमको अपराजित यात्रा ‘ब्रेक’ गर्दै विराटनगर क्वालिफायरमा
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो।
१४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नु पर्ने अवस्थामा ११.५ ओभरमै लक्ष्य पूरा गर्दै विराटनगरले सनसनीपूर्ण जित निकालेको हो । आजको जितसँगै विराटनगर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । काठमान्डु गोर्खाजसँग समान १० अंक भए पनि विराटनगर रनरेट अघि रहेको हो । यसअघि सुदुरपश्चिमले शीर्ष स्थान बनाइसकेको थियो । आज पराजित भएसँगै उसको ६ खेलको जितको यात्रामा भने पूर्णविराम लागेको छ ।
यससँगै अंक तालिकामा सुदूरपश्चिम १२ अंकसहित दोस्रो, विराटनगर १० अंकसहित दोस्रो, काठमान्डु १० अंकसहित तेस्रो र लुम्बिनी लायन्स ८ अंकसहित चौथो भए। अब पहिलो सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोली शनिबार हुने फाइनलमा पुग्नेछ । हार्ने टोली बिहीबार हुने दोस्रो क्वालिफायनरमा पुग्नेछ ।
बुधबार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी भिड्ने छन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ । विराटनगर सुदूरपश्चिमले दिएको १४८ रन लक्ष्य ११.५ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । आक्रामक सुरूवात गरेको विराटनगरका लागि फाप डु प्लेसिसले १९ बलमै अर्धशतक पूरा गरेका थिए । उनले २० बल खेलेर ५ चौका र ४ छक्का प्रहार गरे ।
उनले पहिलो विकेटका लागि साम हिजलेटसँग ७.१ ओभरमा ९७ रनको साझेदारी गरे । फापलाई सुदूरपश्चिमका अभिनास बोहराले बोल्ड गरेका थिए । ओपनर हिजलेटले २७ बलमा ५१ रन बनाए । उनलाई हर्मित सिंहले नवौं ओभरको दोस्रो बलमा विकेट पछाडि विनोद भण्डारीबाट क्याच गराए । हिजलेटले ३ चौका र ४ छक्का प्रहार गरे ।
विराटनगरका लागि मार्टिन गप्टिल भने ११औं ओभरको दोस्रो बलमा रनआउट हुन पुगे । उनले ९ बलमा २२ रन जोडे । विराटनगरले १० ओभरमै २ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । १२औं ओभरमा बसिर अहमद ८ रनमा आउट भए । उनलाई पनि अभिनासले क्याच गराए । १२औं ओभरको चौथो र पाँचौ बलमा अभिनासलाई नै प्रतिश जिसीले लगातार दुई छक्का प्रहार गरेर विराटनगरको सनसनीपूर्ण जितको हिस्सा बने ।
त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलले ६ विकेटको क्षतिमा १४७ रन बनायो । सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४५ रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे । सुदुरपश्चिमका ओपनरद्वय विनोद भण्डारी १५ रन र जोश ब्राउन २४ रन जोडेर आउट भए ।
चौथो ओभरमा विराटनगरका बसिर अहमदबाट बोल्ड भएका भण्डारीले १३ बलमा ३ चौका प्रहार गरे । आठौं ओभरको अन्तिम बलमा ब्राउनलाई विराटनगरका सन्दीप लामिछानेले हिजलेटबाट क्याच गराएका थिए । त्यसपछि इशान पाण्डे र आरिफ शेखबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी भयो । सन्दीपबाट नै १७औं ओभरको दोस्रो बलमा डि लाङबाट क्याच हुनुअघि पाण्डेले ३८ रन बनाए ।
उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । लगत्तैको बलमा सन्दीपले हर्मित सिंहलाई डु प्लेसिसबाट क्याच गराउँदै डकआउट गराए। कप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि ११ बलमा २ छक्काको मद्दतमा १९ रन जोडे। ऐरी प्रतिश जिसीको बलमा हिजलेटबाट क्याच भए ।
