`

रिमामाथि राजनीतिक ‘हमला’ : बचाउमा उत्रिए हिमेश

Nepal One HD २१ मंसिर २०८२ १५:५५
प्रमुख खबर

काठमाडौं । कलाकार रिमा विश्वकर्माको राजनीतिक प्रवेशसँगै सामाजिक सञ्चालमा उठेका टीका–टिप्पणी तीव्र बनेका छन् । यति बेला चर्चित कलाकार तथा व्यंग्यकार हिमेश पन्त भने रिमाको समर्थनमा खुला रुपमा उत्रिएका छन् । उनले कलाकारको योग्यतामाथि प्रश्न उठाइएका अभिव्यक्तिहरूलाई कटाक्ष गर्दै, कलाकारलाई राजनीति अयोग्य ठहर्‍याउने मानसिकता नै समस्याग्रस्त रहेको टिप्पणी गरेका छन् ।

हिमेशका अनुसार राजनीति सञ्चालनको मूल आधार इमानदारी, जनभावना बुझ्ने क्षमता र सामाजिक संवेदनशीलता हो, जुन गुण कलाकारमा नभएको भन्नु वास्तविकतालाई नबुझ्नु हो । उनले प्रश्न उठाएका छन्, ‘आज देश चलाइरहेका नेताहरू कुन संस्थाबाट ‘राजनीतिक डिग्री’ लिएर आएका हुन् ? कति जनामा नेतृत्व कौशल छ ? कति जनाले परिणाम देखाएका छन् ?’

उनका अनुसार कलाकार भने आफ्नो कामको नतिजा प्रत्यक्ष जनताबाट पाउने भएकाले जनअनुग्रह बुझ्न उनीहरू सधैं नजिक हुन्छन् । यता राजनीतिमा दशकौँ बिताएका धेरै नेताहरूको परिणाम भने अदृश्य नै देखिएको उनको तर्क छ ।
कलाकार राजनीतिमा आउँदा केही व्यक्तिहरू असजिलो महसुस गर्नुका कारणबारे बोल्दै उनले भनेका छन्, ‘नयाँ अनुहारले पुरानै प्रणालीको कमजोरी उजागर गरिदिन्छ । नयाँ सोच, नयाँ व्यवहार र अनुशासनले पुरानामा दबाब सिर्जना हुन्छ । यही कारण कतिपयले कलाकारको प्रवेश मन नपराउनु स्वाभाविक हो ।’

आफै पनि एक पटक चुनाव लडेका पन्तले कलाकारप्रतिको अविश्वास र पूर्वाग्रह पहिले नै भोगिसकेको स्मरण गरे । एउटै सानो समस्या समाधान गर्न पनि नेताको पछि लाग्नुपर्ने बाध्यताले नै समाजले राजनीति र पेशा छुट्याउन नसकेको प्रस्ट हुन्छ भनेर उनले टिप्पणी गरेका छन् । रिमातर्फ सम्बोधन गर्दै पन्तले शुभकामना व्यक्त गरेका छन्, ‘नयाँ मान्छे राजनीतिमा आउनु भनेको देशमा नयाँ सोच र नयाँ अनुशासन थपिनु हो । तपाईं कलाकारितामा जस्तै यहाँ पनि मेहनत र सत्य बोल्ने साहसका साथ अघि बढ्नुहोस् ।’ हिमेशको अभिव्यक्तिले कलाकारको राजनीतिक सहभागितामाथिको बहस पुनः चर्किएको छ, जसले नेपाली राजनीतिमा ‘नयाँ पुस्ताको आकांक्षा’ कति बलियो छ भन्ने संकेत पनि दिएको छ ।

केही दिनअघि ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा भयो । कार्यक्रममा अभिनेत्री तथा सञ्चारकर्मी रिमा विश्वकर्मा सारीमा सजिएर आइन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेकी उनले पार्टीको घोषणापत्र पढिन् । भाषण गर्दै आफू देश बनाउने हुटहुटीले राजनीतिमा आएको समेत बताइन् । उनको भाषण सुन्दा लाग्थ्यो, उनले राम्रै पूर्वतयारी गरेर आएकी थिइन् । रिमाको भाषणलाई लिएर कलाकर्मीहरुले पनि तारिफ गरेका थिए । तर, गायिका ज्योति मगरले भने रिमाप्रति कटाक्ष गरेकी थिइन् । रिमाको नाम नलिईकनै उनले सञ्जालमार्फत् भनेकी छन्, ‘म पनि पार्टी प्रवेश गरुम् भनेको प्रोगामहरुको व्यस्तताले अलि भ्याइएन । इन्दिरा गान्धी टाइपको नयाँ सारी सिलाउनै भ्याइएन ।’ चलचित्र क्षेत्रमा रिमाले काम नै नपाएकोप्रति संकेत गर्दै ज्योतिले भनेकी छन्, ‘अलि कामहरु कम भयो भने राजनीतिमा छिरेर देश बनाउनु पर्ला । हाल मेला महोत्सवतिरै फोकस गर्ने निधो गरियो ।’ ज्योतिले लमजुङ सुन्दर बजारमा हुने कन्सर्टको पोस्टर समेत शेयर गरेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *