`

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

Nepal One HD २३ मंसिर २०८२ १५:४६
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज (मंगलबार) सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच भिडन्त हुँदैछ। उक्त खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले पनि फाइनलमा पुग्न अर्को अवसर पाउने छ।

यो खेलमा पराजित हुने टोलीले काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच बुधबार हुने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । एनपीएलको दोस्रो संस्करणमा विराटनगर र सुदूरपश्चिम दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि, लिग चरणमा पनि यी दुई टोलीबीच खेल भएको थियो । उक्त खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको थियो । जारी प्रतियोगितामा सुदूरपश्चिम हालसम्म आफूले खेलेको सातमध्ये ६ खेलमा विजयी भएको छ भने एक खेलमा मात्र पराजित भएको छ ।

अर्कोतिर, एनपीएलको दोस्रो संस्करणमा विराटनगर हालसम्म आफूले खेलेको सातमध्ये पाँच खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । सुदूरपश्चिम एनपीएलको साबिक उपविजेता हो । सुदूरपश्चिम अघिल्लो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । विराटनगर भने अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो । पहिलो संस्करणको लिग चरणमा विराटनगर छैटौं भएको थियो ।

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *