तीन हप्तामा डेढ लाख शरणार्थी अफगानिस्तान फर्किए
काबुल । पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट डेढ लाख अफगानी परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम र एयरपोर्टहरू हुँदै अफगानिस्तानमा प्रवेश गरेका थिए ।
सबै फर्केका परिवारहरूले खाना, पिउने पानी, स्वास्थ्य सेवा र आफ्नो गन्तव्यमा पुग्न निःशुल्क यातायातसहित तत्काल सहायता प्राप्त गरेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तले यस वर्ष अहिले सम्म इरान, पाकिस्तान र अन्य देशबाट करिब २७ लाख अफगान नागरिक स्वदेश फर्केको बताएका छन् ।
बाँकी अनुमानित ६० लाख अफगान शरणार्थीहरू, मध्ये अधिकांश कागजातविहीन छन् भने उनीहरु मुख्यतया इरान र पाकिस्तानमा रहेका छन् ।
