`

निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ – अध्यक्ष साम्पाङ

Nepal One HD २७ मंसिर २०८२ २०:०७
राजनीति

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ ।

गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उहाँले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गर्नुभयो ।

धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास हुने भन्दै आफूहरू देश विकासका खाकासहित अगाडि बढेको बताउनुभयो । “नेताहरुले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ, तर समस्या समाधान हुँदैन । एउटै योजनामा पटकपटक बजेट हालेर पनि योजना बन्दैन । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

पार्टी अध्यक्ष साम्पाङले अब कुरा भन्दा श्रम गर्नेलाई अवसर दिनुपर्ने र त्यसका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वउपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न पार्टी परित्याग श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।

कार्यक्रममा पार्टीको खोटाङमा प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जनाकारी दिइएको थियो । समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *