`

सभापति देउवा र शेखर कोइरालाबीच भेटवार्ता

Nepal One HD १ पुष २०८२ १३:२९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवा निवास महाराजगञ्ज पुगेर कोइराला र रिजालले पार्टीका आन्तरिक विषयमा कुराकानी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा कुरा गर्न कोइराला र रिजाल सभापति देउवाकहाँ गएका हुन् । साथै केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा नेता कोइराला र रिजाल सभापति देउवाकहाँ गएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।

भेटमा कोइरालाले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पुगेको र यसले पार्टीभित्र जटिल समस्या सिर्जना गरेको सभापति देउवालाई बताएका थिए । कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन आग्रह गरेका थिए । अनुशासन कारबाहीका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने बताएका थिए । सुदूरपश्चिमका विभिन्न जिल्लामा नम्बर बिनाका क्रियाशील सदस्यता फारम पुगेपछि विवाद भएको थियो ।

यस्तै, अनुशासन कारबाहीका विषयमा पनि कोइरालाले देउवाको ध्यानाकर्षण गराए । २०७९ को निर्वाचन गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने भन्दै उनले सबैको कारबाही फुकुवा गरेर पार्टी महाधिवेशन र आमनिर्वाचनमा खट्न निर्देशन दिनुपर्ने धारणा राखे । पार्टीको आगामी महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयले कांग्रेसभित्र तनाव बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *