`

फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य सकिन्छ : वर्षमान पुन

Nepal One HD १ पुष २०८२ १५:१३
प्रमुख खबर

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य सकिने बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका हुन् । नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क नरहेको जिकिर समेत गरे । उनले तोकिएको मितिमा निर्वाचन गरेर अघि बढ्दा नै मुलुकलाई संकटबाट निकास दिन सकिने बताए ।

नेता पुनले भने ‘राजनीतिक दलहरूको पनि सहमतिमा यो सरकार बनेको छ । ६ महिनाभित्र निर्वाचन गराउने सर्तमा । संविधानले एक संसद् र त्यसपछि आउने संविधानबीच ६ महिना भन्दा बढी ग्याप हुनुहुँदैन भन्छ । मान्छे जान्ने भएर चुनाव सर्छ भन्ने गर्दछन् । सर्नुको अर्थ संविधान अझ मिचिनु हो । किनभने अस्ती संसद् विघटन भएको ६ महिना पुग्न ७ दिन मात्रै बाँकी हुनेगरी निर्वाचनको मिति तोकिएको छ । फागुन २१ मा चुनाव र फागुन २८ गते ६ महिना पुग्छ । त्यो ७ दिनभित्र रिजल्ट आउँछ भनेर चुनावको मिति घोषणा गरिएको हो ।’

उनले भने, ‘चुनाव सर्नुको अर्थ यो सरकारको औचित्य सकिन्छ । ६ महिनामा चुनाव गर्छु भनेर कमिटमेन्ट गरेर त्यो म्याण्डेट लिएर आएको सरकारले किन चुनाव नगराउने । गराउँदिन भन्न पाउँदैन । त्यो परामर्श गरेर नै तय गरिएको हो । त्यसो हुनाले ६ महिनाभित्र चुनाव नगराएर यो सरकारको म्यान्डेट सिद्धिन्छ ।’ नेता पुनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरी पुँजीगत खर्च गर्नुपर्ने समेत बताए । उनले जेन–जी आन्दोलनले ध्वस्त बनाएका निजी क्षेत्रको उद्योग, व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *