रवि लामिछाने रिहा हुने बितिक्कै पार्टी जिम्मेवारीमा फर्किने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भए लगत्तै पार्टीको मूल जिम्मेवारीमा पुनः फर्किने भएका छन् । कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेको रिहाइसँगै नेतृत्व हस्तान्तरण तत्काल हुने स्पष्ट गरेका हुन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशअनुसार अदालती प्रक्रिया पूरा गर्न लामिछाने आज भैरहवा जाँदैछन्। प्रक्रिया टुंगिएसँगै उनी पार्टीको केन्द्रीय जिम्मेवारीमा फर्किने कार्यवाहक सभापति अर्यालले जानकारी दिएका छन् ।
विज्ञप्तिमा रास्वपाले अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति पार्टी सदैव प्रतिबद्ध रहेको दोहो¥याएको छ । साथै सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू अझै यथावत् रहेको उल्लेख गर्दै ती मुद्दाहरू तत्कालीन निरंकुश सरकारबाट सुरु गरिएको राजनीतिक प्रतिशोधको शृङ्खला भएको पार्टीको ठहर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले वर्तमान नागरिक सरकारले उक्त राजनीतिक प्रतिशोधको शृङ्खलालाई अन्त्य गर्न आवश्यक कदम चाल्ने विश्वाससमेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भई निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपालीप्रति र न्यायका पक्षमा विभिन्न अभियानमार्फत उभिनुहुने पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरूप्रति पार्टी हार्दिक आभार व्यक्त गर्दछ ।’ रास्वपाले सभापति लामिछानेको पुनरागमनले पार्टी गतिविधि थप सशक्त र संगठित हुने विश्वास लिएको छ। रिहाइपछि उनी पार्टी संगठन, राजनीतिक एजेन्डा र आगामी कार्यदिशामा पुनः सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
हेर्नुस् विज्ञप्ती

