`

रवि लामिछानेको आग्रह : आक्रोश मतबाट व्यक्त गरौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी प्रतिष्पर्धालाई शान्त, मर्यादित र स्वस्थ बनाउन पार्टीका नेता–कार्यकर्तालाई संयमित भएर अघि बढ्न निर्देशन दिएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आचारसंहिता पूर्ण रूपमा पालना गर्न, असन्तुष्टि र आक्रोशलाई मतमार्फत अभिव्यक्त गर्न आग्रह गरेका छन् ।

लामिछानेले नतिजा जे आए पनि स्वीकार्ने मानसिकता बनाउनु पर्ने उल्लेख गर्दै सबै राजनीतिक दललाई भड्काउने र उत्तेजित गतिविधिबाट टाढा रहन आग्रह गरे । ‘स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । कुनै पनि दलका नेता–कार्यकर्ता उत्तेजित नहुन्’, उनले भने, ‘अरू दलका नेता–कार्यकर्ताप्रति पनि सम्मानजनक व्यवहार देखाउनु पर्छ ।’

यसैक्रममा उनले आफूविरुद्ध चलेका मुद्दा र अदालती प्रक्रियाबारे पनि धारणा राखे। जनकपुरबाट पर्सा हुँदै चितवन पुगेपछि बुधबार काठमाडौं फर्कदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले अदालतप्रतिको सम्मान अनिवार्य भएको बताए । आफूविरुद्ध नचाहिने अभियोजनहरू भएको दाबी गर्दै उनले भने, ‘तर अदालतको विकल्प छैन । जे जस्तो भए पनि अदालती प्रक्रियालाई स्वीकार र सम्मान गर्नुपर्छ ।’

अदालतका विषयमा सडकबाट बहस गर्नु उपयुक्त नहुने उनको भनाइ थियो । ‘अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन । अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन’, उनले स्पष्ट पारे । धेरै मुद्दाका कारण मानसिक दबाब महसुस भए पनि अदालतप्रति आशा र भरोसा कायम रहेको उनले बताए ।

चुनावी प्रसंगमा पुनः जोड दिँदै चितवन–२ बाट निर्वाचनमा होमिएका लामिछानेले नतिजा स्वीकार्ने तयारीसहित मैदानमा उत्रिएको बताए । ‘प्रतिष्पर्धा स्वस्थ होस् । चुनावपछि पनि लोकतान्त्रिक संस्कार कायम रहनु पर्छ’, उनले भने । चितवनप्रति आशावादी देखिएका उनले जिल्लामा घण्टी चुनाव चिह्नप्रति बढ्दो आकर्षण देखिएको दाबी गर्दै ‘चितवनले सुरुवातमै उत्साहजनक संकेत दिएको’ बताए ।

गनेरै नभ्याइने मुद्दा र अत्याचारको गुन तिर्दै जानेछु : रवि लामिछाने

काठमाडौं । देशभर प्रतिनिधिसभा उपनिर्वाचनको चहलपहल बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने अदालत धाइरहनु परेको भन्दै भावुक अभिव्यक्ति दिएका छन् । उम्मेदवारी मनोनयनको उत्साहमा आफू पूर्ण रूपमा मिसिन नसकेको उनले बताएका छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा एकैसाथ सुनुवाइ भइरहेको छ । यही कारणले उनले चितवन–२ बाट आफैं उपस्थित हुन नसकी वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । पर्सा जिल्ला अदालतले भने उनलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने बाँकी दुई जिल्लामा सुनुवाइ प्रक्रिया जारी छ ।

अदालतबाट बाहिरिँदै लामिछानेले निर्वाचनको माहोलबारे प्रतिक्रिया दिँदै भने, ‘देश निर्वाचनमय छ, मनोनयन दर्ताको रौनक छ । तर आजै तीन वटा अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेकाले म त्यो उत्साहमा मिसिन सकिरहेको छैन ।’ चितवन–२ मा शुभेच्छुकहरू बाटो कुरिरहेको उल्लेख गर्दै उनले सम्भव भएसम्म आफैं पुग्ने प्रयास गरे पनि नसक्दा वारेसमार्फत उम्मेदवारी दिएको स्पष्ट पारे ।

लामिछाने यसअघि पनि चितवन–२ बाट निर्वाचित भइसकेका नेता हुन् । नागरिकता विवादका कारण पद गुमेपछि भएको उपनिर्वाचनमा उनले पुनः जित हासिल गरेका थिए । तर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण दोस्रो पटक पनि सांसद पद गुमाउनु परेको थियो । पछिल्लो उपनिर्वाचनमा पुनः चितवन–२ बाट मैदानमा उत्रिँदै उनले आफूविरुद्ध योजनाबद्ध रूपमा मुद्दा लगाइएको आरोप लगाएका छन् ।

आक्रोशपूर्ण अभिव्यक्तिमा उनले भने, ‘सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दा लगाइयो । यो अत्याचार हो ।’ आफूविरुद्ध भएको व्यवहारलाई ‘पाप र अन्याय’ को संज्ञा दिँदै उनले यसको हिसाब नेपाली जनताले निर्वाचनमार्फत दिने दाबी गरे । ‘फागुन २१ मा जनता घण्टी बजाएर जवाफ दिनेछन्’, उनको भनाइ थियो ।

लामिछानेले आफूलाई चारैतिरबाट घेराबन्दी गरिएको महसुस भएको पनि बताए । ‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरिएको अत्याचारका कारण तिमीहरू रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ’, भन्दै उनले प्रतिशोधको राजनीति नगर्ने तर न्यायिक र राजनीतिक रूपमा जवाफ दिने चेतावनी दिए । तीन जिल्लामा एकैसाथ चलिरहेका मुद्दा, अदालत धाइरहनुपर्ने बाध्यता र त्यसबीचमा उपनिर्वाचनको तयारी—यी सबैले रवि लामिछानेको यो चुनावी यात्रा असामान्य बनेको छ । अब चितवन–२ का मतदाताले उनको राजनीतिक भविष्यबारे कस्तो निर्णय गर्छन् भन्ने चासो बढ्दै गएको छ ।

 

रवि लामिछानेले वारेसमार्फत दर्ता गरे उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वारेसनमा मार्फत उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला अदालत पर्सामा मुद्दाको कारण आफै उपस्थित हुन नसकेपछि पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवालीमार्फत लामिछानेले चितवन २, बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

संयोजक ज्ञवालीले आफूले वारेसनामा लिएर उम्मेदवारी दर्ता गराएको जानकारी दिइन् । लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए । लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रो पटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

यसैबीच सहकारी ठगी लगायतका मुद्दामा रास्वपा सभापति लामिछानेलाई एक करोड धरौटी बुझाउन जिल्ला अदालत, पर्साले आदेश दिएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एक इजलासले एक करोड रुपैयाँ बराबरको धरौटी बुझाउन आदेश दिएको हो । उनी अहिले धरौटी बुझाउने प्रक्रियामा छन् । लामिछाने मंगलबार अदालतमा उपस्थित भएका थिए । आजै थुनछेकको बहस भएको थियो ।

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड धरौटी मागेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । रविसँग धरौटी माग गरिएको अदालत स्रोतले पुष्टि गरेको छ । रवि अदालतमा हाजिर भएर चितवन २ मा मनोनयनमा जाने तयारीमा थिए ।

 

 

मुद्दा फिर्ताको माग गर्दै रविले दिए निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका केही गम्भीर आरोपहरू फिर्ताको माग गर्दे महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनीमाथि विभिन्न जिल्ला अदालतहरूमा सहकारी ठगीको मुख्य आरोपसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि मुद्दा चलाइएको छ । लामिछानेले यी दुई आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

लामिछानेले थुनामुक्त हुनुअघि नै पहिलो निवेदन दिएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । धरौटी तथा बैंक जमानतमा रिहा भएपछि फेरि पूरक निवेदन पेस गरेका छन् । सहकारी ठगीको आरोपमा मात्र बढी कैद सजाय माग्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप थपेर सजायको मागलाई १० वर्षभन्दा माथि पुर्‍याइएको उनको उल्लेख गरेका छन् । यस्ता मुद्दामा प्रमाण भेटिए थुनामा पठाउने धरौटी बलियो हुने भएकाले आफूमाथि अधिकतम राजनीतिक पूर्वाग्रह प्रयोग गरिएको उनको दाबी छ ।

स्रोतका अनुसार तीन–चार दिनअघि दिएको पूरक निवेदनको अध्ययन भइरहेको छ । हाल सहन्यायाधिवक्ताको तहमै छलफल चलिरहेको छ । त्यहाँबाट रायसहित अघि बढेपछि नायब महान्यायाधिवक्ता तथा सचिवस्तरका सरकारी वकिलबाट थप रायसहित महान्यायाधिवक्ता समक्ष पेस हुने प्रक्रिया छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा मुद्दा फिर्तासम्बन्धी व्यवस्था छ । जघन्य तथा गम्भीर प्रकृतिका केही अपवादबाहेक अन्य मुद्दा फिर्ता लिन सकिन्छ । तर सम्पत्ति शुद्धीकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा समावेश छ ।

यसैगरी सरकारले २०७७ मा जारी गरेको फौजदारी मुद्दा फिर्ता सम्बन्धी निर्देशिकाले पनि संगठित अपराधको मुद्दा फिर्ता गर्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ । निर्देशिकाले प्रचलित कानुनले निषेध गरेका मुद्दा फिर्ता नहुने उल्लेख गरेको छ । रविविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । रुपन्देही र काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगी तथा संगठित अपराधको मुद्दा छ । चितवनमा भने संगठित अपराधको आरोप थपिएको छैन ।

यी सबै मुद्दा गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट आएको रकम अपचलनसँग जोडिएका छन् । त्यतिबेला लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका अध्यक्ष जीबी राईलगायतसँग मिलेमतोमा सहकारी ठगेको आरोप लागेको छ । पाँचवटा जिल्ला अदालतमा मुद्दा चलिरहेका छन् ।

कुलमानको राजीनामाबारे रवि : अब सहमतिलाई औपचारिकता दिन्छौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङका सम्बन्धमा पार्टीले अब औपचारिक निर्णय गर्ने बताएका छन् । आज (बिहीबार) चितवनमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले कुलमानलाई पार्टीको उपसभापति बनाउने सहमतिलाई औपचारिकता दिने बताएका हुन् । ‘कुलमानजीले बल्ल राजीनामा दिएर आउनु भएको छ । सहमतिलाई पार्टीले औपचारिकता दिने काम अब शुरू हुन्छ,’ लामिछानेले भने ।

समानुपातिकको बन्दसूची पेश गर्ने दिन रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता भएको थियो । बुधवार मन्त्रीबाट राजीनामा गरेपछिको पत्रकार सम्मेलनमा घिसिङले रास्वपामा जाने÷नजानेबारे स्पष्ट गरेका थिएनन् । उनले आफ्नो स्वाभिमान बिर्सेर राजनीति नगर्ने बताएका थिए । उज्यालो नेपालका उम्मेदवारले रास्वपाबाटै बन्दसूची पेश गरे पनि कुलमान रास्वपाको कार्यक्रममा सहभागी भएका छैनन् ।

रवि लामिछानेसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्च अदालतबाट पनि सदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालाई संगठित रूपमा ठगी गरेको आरोपमा दायर मुद्दामा धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय कानुनसम्मत रहेको ठहर गर्दै आदेश परिवर्तन गर्नु आवश्यक नभएको स्पष्ट गरेको छ ।

इजलासले भन्यो कि जिल्ला अदालतले प्रतिवादीको बयान, जाहेरी विवरण, रकमको प्रयोगको अवस्था र प्रारम्भिक संलग्नताको आधारमा पुर्पक्षका लागि धरौटी माग गर्ने निर्णय गरेको थियो, जुन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार गैरकानुनी नभएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले रवि लामिछानेसहित अन्य आरोपितलाई क्रमशः ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतले प्रतिवादीलाई धरौटी बुझाइसकेको र आगामी प्रक्रियामा थप प्रमाण संकलन तथा साक्षी बयान लिने भएकाले तत्काल आदेश परिवर्तन गर्न आवश्यक नपर्ने ठहर गरेको हो ।

मामला स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित छ, जसमा नेपाल सरकार वादी रहेको छ । वादीको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी र उच्च सरकारी वकिल कार्यालय, पाटनका उप–न्यायाधिवक्ता मोहन खनाल र सहायक न्यायाधिवक्ता अञ्जली शर्माले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र सुरेन्द्र थापा, डा. नारायणदत्त कँडेल र अपूर्व खतिवडाले बहस गरेका थिए । उच्च अदालतको निर्णयपछि रवि लामिछानेसहित सबै प्रतिवादी धरौटी बुझाएर कानुनअनुसार जारी रहेको र निर्दिष्ट तारिखमा अदालतमा उपस्थित हुने व्यवस्था यथावत् रहने भएको छ । अदालतको अन्तिम फैसलासम्म, प्रतिवादी धरौटी र तारिखको शर्तमा नै रहने छन् । आगामी चरणमा काठमाडौं जिल्ला अदालतले थप प्रमाण संकलन, साक्षी बयान र कानुनी प्रक्रियामार्फत अन्तिम निर्णय गर्नुपर्नेछ ।

 

परिवारवादबारे स्पष्ट छौं, विधि बाहिर गएर रास्वपाले कसैलाई पनि बोक्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समानुपातिक सूचीमा केही समस्या देखिए सच्याइने बताएका छन् । आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले समानुपातिक सूचीमा देखिएका समस्या समीक्षा हुने बताए । राजनीतिक ध्रुवीकरणका कारण पनि समय अभाव भएको सभापति लामिछानेको भनाइ छ । ‘नयाँहरू एक ठाउँमा जाने भन्ने छोटो समयमै निर्णय भएकाले तयारीमा हाम्रो समय नपुगेको जरुर हो । कुलमानजीसँग त हामीले इलाभेन्थ आवरमा एकता गरेका हौँ । उता सूची बुझाउनु छ । यता हामी सहमति गर्दै थियौँ,’ उनले भने ।

रास्वपाले परिवारवाद र नातावाद मान्दै नमान्ने पनि उनको भनाइ छ । ‘रास्वपासँग विधि छ विधिभन्दा बाहिर रास्वपा कुनै हालतमा जाँदैन । परिवारवादमा रास्वपाको विधानले मान्दैन । कथंकदाचित कोही जानु नै भएछ भने पनि रास्वपाको विधानले नै राइट टु रिकलको व्यवस्था गरेको छ । हामी सचेत छौँ । अरु केही पनि विवाद आउँछ कि भनेर वेट गरिरहेका छौँ । यो दुई दिनमा देखिएका जायज गुनासा सम्बोधन गर्छौँ । पार्टीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन,’ उनले भने ।

अहिले भइरहेको खबरदारी आफूहरूका लागि राम्रो भएको पनि सभापति लामिछानेले भनेका छन् । ‘इलिट’ र चर्चामा आएका मान्छेहरू मात्र सूचीमा छन् भन्ने प्रश्नमा उनले भने, ‘नेपाल राजनीतिक रूपमा जुन अवस्थाबाट गुज्रिएको छ । त्यस कारणले सबै तप्का वर्ग, पेसा व्यवसायमा भएका मान्छेको राजनीतिमा चासो छ । जुन किसिमको राजनीति देशमा चल्यो । राजनीति नगर्ने मान्छेलाई पनि जुर्मुरायो । राजनीतिक रूपमा सचेत साथीहरू कलाकार, पत्रकार, खेलाडी, पर्वतारोही आउनु भएको हो । दलको दबदबा हटाउन उहाँहरू जोडिनु भएको हो ।’

सूचीमा परेका सबैको राजनीतिक चेतना अब्बल भएको पनि लामिछानेले दाबी गरेका छन् । प्राइमरी इलेक्सनमा अगाडि आएका मान्छे पछाडि परेको भन्ने प्रश्नमा उनी भोटिङको वेटेज नै ५० प्रतिशत मात्र रहेको दाबी गरे । भोटिङ मात्र नभई उम्मेदवारहरूको ‘पोलिटिकल प्रक्सिमटी’ लगायतका मापदण्ड पनि हेरिएको उनले बताएका छन् ।

घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ–समयले बताउँला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच अढाइ घण्टासम्म चलेको वार्ता सकिएको छ । वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा भएको थियो । वार्ता सकिएपछि लामिछाने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिन तयार भएनन् । ‘वार्ता कस्तो भयो ?’ भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’ अर्को प्रश्न, ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ मा भने उनले जवाफ दिए, ‘बाँकी समयले बताउँला ।’

लामिछानेले थप भने, ‘जनताले चाहेको परिणामको लागि अलिकति प्रतीक्षा गर्नुस् ।’ सञ्चारकर्मीले थपे, ‘अनुहारमा त सधैं चमक छ नि’, भनेपछि उनले छोटोमा धन्यवाद व्यक्त गरे । वार्ताको विषयवस्तु र परिणामबारे अहिले स्पष्ट जानकारी नआएको भए पनि, लामिछानेको जवाफले संवाद सकारात्मक रहेको संकेत दिएको छ ।

बालेनसँग वार्ता सकेर बाहिरिए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरी बाहिरिएका छन् । ललितपुरको ज्वागलस्थित मेयर साहका निकट सहयोगी कुमार बेनको निवासमा भएको उक्त छलफल करिब एक घण्टा चलेको बताइएको छ । छलफलपछि सञ्चारकर्मीहरूको घेरामा परेका लामिछानेले वार्ताबारे कुनै स्पष्ट प्रतिक्रिया दिन चाहेनन् । वार्ताको विषयवस्तुबारे सोधिएको प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ लामिछानेको यो अभिव्यक्तिले भेटवार्ताको महत्व र भित्री सन्देशबारे थप चासो बढाएको छ।

यद्यपि, रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भने भेटवार्ताको एजेण्डाबारे केही संकेत दिएका छन् । उनका अनुसार बालेन साह र रवि लामिछानेबीच आगामी दिनमा कसरी सहकार्य गर्ने, विशेषगरी चुनावी समन्वय र मिलेर अघि बढ्ने सम्भावनाबारे छलफल भएको थियो । राजनीतिक रूपमा स्वतन्त्र पहिचान बनाएका मेयर बालेन साह र नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै नेताले सार्वजनिक रूपमा मौनता अपनाए पनि, यो भेटले आगामी राजनीतिक समीकरणमा नयाँ संकेत दिन सक्ने आँकलन गरिएको छ । हालका लागि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि, बालेन–रवि संवादलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेरिने निश्चित देखिन्छ ।

 

चितवन पुगेर रविको प्रष्टिकरण : बालेनलाई प्रधानमन्त्री बनाउने छलफल भएको छैन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने विषयमा कुनै औपचारिक छलफल सुरु नभएको स्पष्ट पारेका छन् । नयाँ र वैकल्पिक भनिएका शक्तिहरूबीच संवाद र सहकार्यको प्रयास स्वरूप मात्रै भेटघाट भएको उनको भनाइ छ ।

अदालतको तारेखमा हाजिर हुन भैरहवा जानुअघि मंगलबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सोमबार राति काठमाडौँमा भएको बालेनसँगको भेटघाट एक–अर्कालाई बुझ्ने चरणमै सीमित रहेको बताएका हुन् । ‘हामी त्यस चरणमा प्रवेश गरेका छैनौं । पहिले त बुझ्नु पर्छ, कुराकानी गर्नुपर्छ, परिस्थितिबारे जानकारी लिनुपर्छ’, उनले भने ।

पत्रकारहरूले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो कि होइन भन्ने प्रश्न गरेपछि लामिछानेले त्यसलाई हल्ला मात्रै भएको संकेत गरे । उनका अनुसार अहिलेको प्राथमिकता सत्ता समीकरण होइन, साझा दृष्टिकोण भएका नयाँ शक्तिहरूबीच विश्वास र समझदारी बढाउनु हो । ‘विस्तारै राजनीतिक विषयमा प्रवेश गर्छौँ’, उनले थपे ।

लामिछानेले रास्वपाले अघि सारेको नीति अनुसार नै नयाँ र वैकल्पिक भनिएका सबै व्यक्तित्व तथा समूहहरूसँग संवाद भइरहेको बताए । बालेनसँगको भेट पनि सोही निरन्तर प्रयासको एक कडी भएको उनको भनाइ छ । ‘हामीले सुरुदेखि नै नयाँ शक्तिहरूसँग संवाद गर्ने भनेका थियौं’, उनले भने, ‘त्यही अनुसार छलफल अगाडि बढेको हो ।’ उनले बालेनसँग मात्र नभई अन्य व्यक्तित्वहरूसँग पनि छलफलको तयारी भइरहेको जानकारी दिए । ‘अब हामी अन्य राजनीतिक तथा वैकल्पिक शक्तिहरूसँग पनि कुरा गर्छौँ’, उनले भने, ‘हामी नेपाली नामक एनजीओका सुदन गुरुङजीसँग र कुलमान घिसिङजीसँग पनि छलफल गर्ने तयारीमा छौं ।’

लामिछानेका अनुसार यी सबै संवादको उद्देश्य कुनै एक व्यक्तिलाई अघि सार्नु भन्दा पनि साझा एजेण्डा र सहकार्यको सम्भावना खोज्नु हो । ‘सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौ’, उनले भने, ‘मैले भनेअनुसार रास्वपा आफ्नै बाटोमा अगाडि बढिरहेको छ ।’ यसरी, पछिल्लो समय चर्चामा आएका भेटघाट र संवादहरूलाई सत्ता केन्द्रित सहमतिको रूपमा बुझ्नु हतारो हुने र अहिलेको चरण विश्वास निर्माण र समझदारी विस्तारमै केन्द्रित रहेको रास्वपाको स्पष्ट सन्देश छ ।

रवि–बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्–कथाको सुखद सुरुवात भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ताले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । दुवै नेताबीच भएको छलफल सकारात्मक रहेको र यसले सहकार्यको संकेत दिएको उनीहरू निकट नेताहरूले बताएका छन् ।

गए राति रास्वपा नेता असिम साहको म्युजिक कम्पनी ‘जी–२१’ को कार्यालयमा रवि र बालेनबीच भेट भएको हो । भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए, जसलाई प्रतिकात्मक रूपमा पनि हेरिएको छ । यस भेटवार्ताको प्रबन्ध मिलाएका असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र देशको हितका लागि मिलेर अघि बढ्नुपर्ने विषयमा कुराकानी केन्द्रित थियो ।

भेटमा के–के विषयमा छलफल भयो भन्ने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । तर यो भेटलाई दुई फरक धारका लोकप्रिय नेताबीच समझदारी र सहकार्यको सुरुवातका रूपमा व्याख्या गरिएको छ । असिम साहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘रवि र बालेन मिलेर अघि बढ्नु पर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश स्पष्ट छ—दुई जना मिलेर जाने हो, अब अगाडि बढ्ने हो ।’

साहले सामाजिक सञ्जालमार्फत पनि भेटलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनासम्बन्धी आरोपमा लामो समय कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रवि लामिछाने यतिबेला राजनीतिक भेटघाट र पार्टीगत गतिविधिमा सक्रिय देखिएका छन् । बालेन साहसँगको यो भेटलाई त्यसै सिलसिलामा आएको महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ ।लोकप्रियता र फरक शैलीका कारण आ–आफ्नै स्थान बनाएका रवि र बालेनबीचको यो संवादले आगामी दिनमा सहकार्यको बाटो खोल्ने अपेक्षा गरिएको छ । औपचारिक घोषणाभन्दा अघि नै आएको यो भेटले कम्तीमा पनि नेपाली राजनीतिमा संवाद र सहमतिका सम्भावनाहरू अझ बलियो बनाएको सन्देश दिएको छ ।

बालेन र रविबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहेको जनाइएको छ । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा वान टु वान वार्ता भइरहेको छ ।

राजनीतिक विषय र भावी योजनाका विषयमा दुईबीच छलफल जारी रहेको बताइएको छ । शनिबार जेलमुक्त भएपछि लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिएका छन् । लामिछाले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए । सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्रबाट सुरु गरेका हुन् ।

ओलीले भने–रविलाई गुन लगाएको थिएँ, रविको व्यङग्य–अदालत धाएर तिर्दैछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको भन्दै व्यङग्य गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन् ।

अदालत परिसरबाट बाहिरिने क्रममा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नु भएको रहेछ । उहाँले कहाँ–कहाँ गुन लगाउनु भएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानु पर्नेछ ।’ आफूमाथि लगाइएका विभिन्न मुद्दाहरूको सामना गरिरहेको सन्दर्भ जोड्दै लामिछानेले यसलाई ‘गुन तिर्ने’ प्रक्रियाका रूपमा अथ्र्याएका हुन् । उनले भने, ‘अरूलाई त मलाई जस्तो मुद्दा लाग्दैन । म सायद सबैभन्दा धेरै मुद्दा लागेको मान्छे हुन सक्छु । गुन तिर्ने क्रममा म काठमाडौं जिल्ला अदाल हाजिर हुन आएँ । अब ओलीको गुन तिर्न सबै जिल्लामा जानुपर्ने छ ।’

केही दिनअघि एक अन्तर्वार्ताका क्रममा निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा गुन लगाएको तर लामिछानेले अनावश्यक दुश्मनी गरेको बताएका थिए । ओलीले भनेका थिए, ‘मैले रवि लामिछानेलाई गुन लगाएको थिएँ । उनले मसँग अनावश्यक दुश्मनी गरे । किन गरे थाहा छैन, भेट हुँदा सोध्छु ।’

सोही अन्तर्वार्तामा ओलीले आगामी निर्वाचनमा नयाँ दलहरूको खासै प्रभाव नहुने दाबी समेत गरेका थिए । हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिले पनि चौथो वा पाँचौँ शक्ति पनि बन्न नसक्ने ओलीको टिप्पणी थियो । उनले नयाँ शक्तिहरूलाई सूर्यलाई टिपेर खान खोज्ने बच्चा जस्तै भएको बताउँदै उनीहरूको हैसियत दशौँ–बाह्रौँ हुन सक्ने बताएका थिए । लामिछाने सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाउन पुगेका हुन् । हिरासतबाट रिहा भएपछि उनलाई विभिन्न जिल्लाका अदालतहरूमा विचाराधीन मुद्दाहरूको तारिख तथा अदालती प्रक्रियाका लागि पुग्नुपर्ने हुन्छ । हिजो मात्र लामिछाने साढे आठ महिनापछि सभापतिकै हैसियतमा पार्टी कार्यालय भित्रिएका थिए ।

 

 

 

रवि लामिछाने रिहा हुने बितिक्कै पार्टी जिम्मेवारीमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भए लगत्तै पार्टीको मूल जिम्मेवारीमा पुनः फर्किने भएका छन् । कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेको रिहाइसँगै नेतृत्व हस्तान्तरण तत्काल हुने स्पष्ट गरेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशअनुसार अदालती प्रक्रिया पूरा गर्न लामिछाने आज भैरहवा जाँदैछन्। प्रक्रिया टुंगिएसँगै उनी पार्टीको केन्द्रीय जिम्मेवारीमा फर्किने कार्यवाहक सभापति अर्यालले जानकारी दिएका छन् ।
विज्ञप्तिमा रास्वपाले अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति पार्टी सदैव प्रतिबद्ध रहेको दोहो¥याएको छ । साथै सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू अझै यथावत् रहेको उल्लेख गर्दै ती मुद्दाहरू तत्कालीन निरंकुश सरकारबाट सुरु गरिएको राजनीतिक प्रतिशोधको शृङ्खला भएको पार्टीको ठहर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले वर्तमान नागरिक सरकारले उक्त राजनीतिक प्रतिशोधको शृङ्खलालाई अन्त्य गर्न आवश्यक कदम चाल्ने विश्वाससमेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भई निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपालीप्रति र न्यायका पक्षमा विभिन्न अभियानमार्फत उभिनुहुने पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरूप्रति पार्टी हार्दिक आभार व्यक्त गर्दछ ।’ रास्वपाले सभापति लामिछानेको पुनरागमनले पार्टी गतिविधि थप सशक्त र संगठित हुने विश्वास लिएको छ। रिहाइपछि उनी पार्टी संगठन, राजनीतिक एजेन्डा र आगामी कार्यदिशामा पुनः सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

हेर्नुस् विज्ञप्ती

 

भैरहवा हिंडेका रविलाई चितवन लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शुक्रबार) बिहानै रुपन्देही जिल्ला अदालत पुगेर रिहाइ प्रक्रिया पूरा गर्ने योजना भए पनि खराब मौसम र उडान ढिलाइले गर्दा अझै पुग्न सकेका छैनन् । उनी बिहान ८ बजे अघि नै ललितपुरको नक्खु कारागारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भैरहवाको लागि सुरुमा तय गरिएको उडान खराब मौसमका कारण स्थगित हुँदा रवि नेपाल एयरको जहाजमार्फत भैरहवा सिधै जान असमर्थ भए ।

त्यसपछि उनलाई भरतपुरसम्म जहाजमा पुर्‍याएर त्यहाँबाट गाडीमार्फत रुपन्देही पठाउने निर्णय भएको रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए । तर, यो खबर तयार गर्दा दिउँसो १ बजेसम्म रवि त्रिभुवन विमानस्थलमै रोकिएका थिए । उडान ढिलाइले गर्दा उच्च अदालतले पूर्व रिहाइका लागि दिएको आदेश कार्यान्वयन गर्न समेत विलम्ब भएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरले बिहीबार जमानत अनुमति दिएको थियो । तर, त्यसका लागि जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्ता छन् रविलाई उच्च अदालतका पाँच शर्तः
–२०८१ माघ १३ गते जिल्ला अदालतले मागेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्नुपर्ने ।
–बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ सुरक्षित गर्नुपर्ने ।
–विदेश यात्रा भएमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने ।
–जिल्ला अदालतको मिति २०८२ साउन २६ को आदेशलाई बदर गर्नुपर्ने ।
–फैसला अनुसार बिगो रकम तिर्ने र आवश्यक कागजात बुझाउनु पर्ने ।

सुप्रिम सहकारी ठगी मुद्दामा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ भने १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको आरोप रवि र उनका निकटतम प्रतिवादीमाथि छ । रविले आफ्नो जिम्मेवारी भाग गरेर मात्र रिहाइको माग गरेका हुन् । रवि लामिछानेको ढिला उडान, अदालत प्रक्रिया र जमानतका जटिल शर्तले राजनीतिक र कानुनी दुनियाँमा चासोका विषय बनेको छ । आजको दिनका लागि तय गरिएको रिहाइ अझै सम्भव देखिँदैन ।

 

 

 

 

रुपन्देही लगिन लागेका रवि काठमाडौंमै किन रोकिए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा जाने भनिए पनि अहिलेसम्म काठमाडौंमै रोकिएका छन् । शुक्रबार बिहानदेखि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान टर्मिनलमै रोकिएको हो । विमानस्थलमा रोकिनुको कारण भैरहवाको खराब मौसम रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

लामिछाने उच्च अदालत, बुटवलको आदेशपछि धरौटीमा रिहा भएका हुन् । बिहीबार अदालतले उनलाई थुना बाहिर बसेरै मुद्दा लड्न पाउने अनुमति दिएको थियो । त्यसपछि उनी शुक्रबार बिहान ७ः५५ बजे जहाजमार्फत भैरहवा जाने तयारीमा थिए, तर मौसम खराब भएकाले उडान स्थगित भएको हो । उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार, जेलबाट रिहा भए लगत्तै लामिछाने सिधै चितवन जान लागेका छन् । शनिबार चितवनको चौबिसकोटीमा विशेष सम्बोधन कार्यक्रम राखिएको छ । कार्यक्रम सम्पन्न भएपछि मात्र उनी काठमाडौँ फर्किने योजना रहेको न्यौपानेले बताए ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । लामिछानेले आफूलाई लागेको बिगोको रकम बैंक ग्यारेन्टी मार्फत बुझाएर उच्च अदालतमा रिहा गर्न निवेदन दिएका थिए । उच्च अदालत बुटवल इजलासले धरौटी रकम बुझाएपछि रिहा गर्न आदेश दिएको थियो । रिहा हुने क्रममा उनीले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी बुझाउनु पर्नेछ । अदालतमा उपस्थित हुन र चितवनको कार्यक्रम पूरा गर्न लामिछानेले अहिलेसम्म काठमाडौँमै रोकिनुपरेको हो । अधिकारीहरूले मौसम सुधार भएपश्चात उडान हुने अपेक्षा व्यक्त गरेका छन् ।

 

 

रवि लामिछानेलाई रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । ’उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,’ अदालतका रजिस्ट्रार अमित उप्रेतीले भने । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानत वापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

रवि र छविको मुद्दा आज पनि किन भयो स्थगित ?

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज (बिहीबार) पनि स्थगित भएको छ । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले सुनुवाइ अघि बढाउन नमिल्ने भएको कुँवरले जानकारी दिएका छन् ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ देखि लगातार सारिँदै आएको छ । यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिएर पेसी सारिएको थियो भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो । लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् ।

 

 

 

 

 

रवि लामिछानेको मुद्दामा आज पेशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइमा आज (बिहीबार) पेशी तोकिएको छ । मंसिर ११ गते तोकिएको पेशी लामिछानेकै कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि आजलाई पेशी तोकिएको हो । पेशी तोकिए पनि इजलासमा चढ्ने–नचढ्ने टुंगो नलागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । बारको अधिवेशनका कारण पटक गणना नहुने गरी सम्बन्धित पक्षका कानून व्यवसायीबाट अनुरोध भए पेशी हटाउन बारबाट अनुरोध आएको अदालतले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहिबारको पेशी कात्तिक १३ गतेपछिको निरन्तर सरिरहेको छ । लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् ।

रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगे सुदन गुरुङ

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उनी कारागार पुगेका हुन् । गुरुङ र लामिछानेबीच करिब एक घण्टा भेटवार्ता हुने जनाइएको छ । वैकल्पिक शक्तिहरू बीच एकताका लागि वार्ता गर्न आफू रवि भेट्न गएको गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार गुरुङले आज २ बजेका लागि सभापति लामिछानेसँग भेट गर्न समय माग गरेका थिए । गुरुङको आग्रह र लामिछानेको सहमति पछि भेट तय भएको आचार्यले बताए । जेनजी अभियन्ता गुरुङले बालेन र कुलमानको एकता पछि अब रवि लामिछानेसँग पनि वैकल्पि

रवि लामिछानेसँग जाँचबुझ आयोगले सोधपुछ गर्दै

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो ।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने नख्खु कारागार प्रशासन स्रोतले जनाएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए । आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

रवि लामिछाने कारागारबाट निस्किने बेला पत्र बुझ्ने म हुँ, फेक होइन : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका आफ्ना सभापति रवि लामिछानेले कारागारबाट पाएको पत्र नक्कली नभएको दाबी गरेका छन् । उनले आफू लामिछाने जेलबाट निस्कने बेलाको साक्षी भएको भन्दै त्यो पत्र बुझ्ने पनि आफै भएको बताएका छन् ।

अर्यालले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु । पत्र बुझ्ने म हुँ, पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन, हतार र हतासमा बेहोराहरू तलमाथि भएको हुन सक्छन्, मिति हामीले सच्याएको होइन । सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ । यस्ता पत्रहरू कम्प्युटरमा भएकै बेहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान् । कुरा त्यति हो ।’

गृह मन्त्रालयलगायत सम्बन्धित सबै नकाियसँग समन्वय गर्ने आफू भएकाले त्यो पत्रका विषयमा सभापति लामिछानेलाई कुनै जानकारी नभएको जिकिर पनि रास्वपाका कार्यवाहक सभापति अर्यालले गरेका छन् ।

‘गृह मन्त्रालयलगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ । यसमा सभापति ज्यूलाई केही जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु । कोही भ्रममा नपर्नुस् । पार्टी सभापतिलाई जेलले निस्क भन्यो । उहाँले पत्र माग्नुभयो । हामीले समन्वय गर्‍यौँ, यसमा उहाँको के दोष ? एकतर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन । १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो । समयमा सभापति ज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ । दुनियाँले देखेको छ, उहाँ भाग्नु भएको होइन’, उनले भनेका छन्, ‘हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नक्खु कारागारको अवस्था ठिक छैन । त्यसैले सीडीओलगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौं । बोलाउने बित्तिकै आउँछौँ भनेर भनेका छौं ।’

जेलबाट निस्केपछि रविले भने–देश जेनजीको माग र परिकल्पनामा चल्छ, राष्ट्रका सम्पति बचाउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेलबाट निस्किए लगतै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन् । उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै तीन पुस्तालाई लुटेर जोडेको आरोप लगाएका छन् ।

‘सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने, ‘यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पत्ति यिनको होइन, देशको तीन पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन। बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ ।’

उनले संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी रहेको पनि उल्लेख गरेका छन् । मुलुकको नेतृत्व जेन जीकै मागअनुसार र जेन जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो रिहाइ कानुनबमोजिम भएको पनि उल्लेख गरेका छन् ।

‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सीधै आम नागरिकसामु आउन पाएको हुँ,’ उनले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।’ रविको अपिल उनकी श्रीमती निकिता पौडेलको फेसबुकबाट जारी भएको छ ।

हेर्नुस् रविको अपिल

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ ।

राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

 

रवि लामिछानेलाई कारागारबाट निकालियो

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बाहिर निकालिएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् । रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए ।

नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका थिए । ‘कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएका छौं,’ उनले भने । ‘हामी सुरक्षा गर्न सक्दैनौं । तपाईंहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने । उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन् । रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन् ।