`

रवि–बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्–कथाको सुखद सुरुवात भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ताले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । दुवै नेताबीच भएको छलफल सकारात्मक रहेको र यसले सहकार्यको संकेत दिएको उनीहरू निकट नेताहरूले बताएका छन् ।

गए राति रास्वपा नेता असिम साहको म्युजिक कम्पनी ‘जी–२१’ को कार्यालयमा रवि र बालेनबीच भेट भएको हो । भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए, जसलाई प्रतिकात्मक रूपमा पनि हेरिएको छ । यस भेटवार्ताको प्रबन्ध मिलाएका असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र देशको हितका लागि मिलेर अघि बढ्नुपर्ने विषयमा कुराकानी केन्द्रित थियो ।

भेटमा के–के विषयमा छलफल भयो भन्ने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । तर यो भेटलाई दुई फरक धारका लोकप्रिय नेताबीच समझदारी र सहकार्यको सुरुवातका रूपमा व्याख्या गरिएको छ । असिम साहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘रवि र बालेन मिलेर अघि बढ्नु पर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश स्पष्ट छ—दुई जना मिलेर जाने हो, अब अगाडि बढ्ने हो ।’

साहले सामाजिक सञ्जालमार्फत पनि भेटलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनासम्बन्धी आरोपमा लामो समय कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रवि लामिछाने यतिबेला राजनीतिक भेटघाट र पार्टीगत गतिविधिमा सक्रिय देखिएका छन् । बालेन साहसँगको यो भेटलाई त्यसै सिलसिलामा आएको महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ ।लोकप्रियता र फरक शैलीका कारण आ–आफ्नै स्थान बनाएका रवि र बालेनबीचको यो संवादले आगामी दिनमा सहकार्यको बाटो खोल्ने अपेक्षा गरिएको छ । औपचारिक घोषणाभन्दा अघि नै आएको यो भेटले कम्तीमा पनि नेपाली राजनीतिमा संवाद र सहमतिका सम्भावनाहरू अझ बलियो बनाएको सन्देश दिएको छ ।

बालेन र रविबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहेको जनाइएको छ । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा वान टु वान वार्ता भइरहेको छ ।

राजनीतिक विषय र भावी योजनाका विषयमा दुईबीच छलफल जारी रहेको बताइएको छ । शनिबार जेलमुक्त भएपछि लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिएका छन् । लामिछाले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए । सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्रबाट सुरु गरेका हुन् ।

ओलीले भने–रविलाई गुन लगाएको थिएँ, रविको व्यङग्य–अदालत धाएर तिर्दैछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको भन्दै व्यङग्य गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन् ।

अदालत परिसरबाट बाहिरिने क्रममा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नु भएको रहेछ । उहाँले कहाँ–कहाँ गुन लगाउनु भएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानु पर्नेछ ।’ आफूमाथि लगाइएका विभिन्न मुद्दाहरूको सामना गरिरहेको सन्दर्भ जोड्दै लामिछानेले यसलाई ‘गुन तिर्ने’ प्रक्रियाका रूपमा अथ्र्याएका हुन् । उनले भने, ‘अरूलाई त मलाई जस्तो मुद्दा लाग्दैन । म सायद सबैभन्दा धेरै मुद्दा लागेको मान्छे हुन सक्छु । गुन तिर्ने क्रममा म काठमाडौं जिल्ला अदाल हाजिर हुन आएँ । अब ओलीको गुन तिर्न सबै जिल्लामा जानुपर्ने छ ।’

केही दिनअघि एक अन्तर्वार्ताका क्रममा निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा गुन लगाएको तर लामिछानेले अनावश्यक दुश्मनी गरेको बताएका थिए । ओलीले भनेका थिए, ‘मैले रवि लामिछानेलाई गुन लगाएको थिएँ । उनले मसँग अनावश्यक दुश्मनी गरे । किन गरे थाहा छैन, भेट हुँदा सोध्छु ।’

सोही अन्तर्वार्तामा ओलीले आगामी निर्वाचनमा नयाँ दलहरूको खासै प्रभाव नहुने दाबी समेत गरेका थिए । हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिले पनि चौथो वा पाँचौँ शक्ति पनि बन्न नसक्ने ओलीको टिप्पणी थियो । उनले नयाँ शक्तिहरूलाई सूर्यलाई टिपेर खान खोज्ने बच्चा जस्तै भएको बताउँदै उनीहरूको हैसियत दशौँ–बाह्रौँ हुन सक्ने बताएका थिए । लामिछाने सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाउन पुगेका हुन् । हिरासतबाट रिहा भएपछि उनलाई विभिन्न जिल्लाका अदालतहरूमा विचाराधीन मुद्दाहरूको तारिख तथा अदालती प्रक्रियाका लागि पुग्नुपर्ने हुन्छ । हिजो मात्र लामिछाने साढे आठ महिनापछि सभापतिकै हैसियतमा पार्टी कार्यालय भित्रिएका थिए ।

 

 

 

रवि लामिछाने रिहा हुने बितिक्कै पार्टी जिम्मेवारीमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भए लगत्तै पार्टीको मूल जिम्मेवारीमा पुनः फर्किने भएका छन् । कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेको रिहाइसँगै नेतृत्व हस्तान्तरण तत्काल हुने स्पष्ट गरेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशअनुसार अदालती प्रक्रिया पूरा गर्न लामिछाने आज भैरहवा जाँदैछन्। प्रक्रिया टुंगिएसँगै उनी पार्टीको केन्द्रीय जिम्मेवारीमा फर्किने कार्यवाहक सभापति अर्यालले जानकारी दिएका छन् ।
विज्ञप्तिमा रास्वपाले अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति पार्टी सदैव प्रतिबद्ध रहेको दोहो¥याएको छ । साथै सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू अझै यथावत् रहेको उल्लेख गर्दै ती मुद्दाहरू तत्कालीन निरंकुश सरकारबाट सुरु गरिएको राजनीतिक प्रतिशोधको शृङ्खला भएको पार्टीको ठहर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले वर्तमान नागरिक सरकारले उक्त राजनीतिक प्रतिशोधको शृङ्खलालाई अन्त्य गर्न आवश्यक कदम चाल्ने विश्वाससमेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भई निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपालीप्रति र न्यायका पक्षमा विभिन्न अभियानमार्फत उभिनुहुने पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरूप्रति पार्टी हार्दिक आभार व्यक्त गर्दछ ।’ रास्वपाले सभापति लामिछानेको पुनरागमनले पार्टी गतिविधि थप सशक्त र संगठित हुने विश्वास लिएको छ। रिहाइपछि उनी पार्टी संगठन, राजनीतिक एजेन्डा र आगामी कार्यदिशामा पुनः सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

हेर्नुस् विज्ञप्ती

 

भैरहवा हिंडेका रविलाई चितवन लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शुक्रबार) बिहानै रुपन्देही जिल्ला अदालत पुगेर रिहाइ प्रक्रिया पूरा गर्ने योजना भए पनि खराब मौसम र उडान ढिलाइले गर्दा अझै पुग्न सकेका छैनन् । उनी बिहान ८ बजे अघि नै ललितपुरको नक्खु कारागारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भैरहवाको लागि सुरुमा तय गरिएको उडान खराब मौसमका कारण स्थगित हुँदा रवि नेपाल एयरको जहाजमार्फत भैरहवा सिधै जान असमर्थ भए ।

त्यसपछि उनलाई भरतपुरसम्म जहाजमा पुर्‍याएर त्यहाँबाट गाडीमार्फत रुपन्देही पठाउने निर्णय भएको रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए । तर, यो खबर तयार गर्दा दिउँसो १ बजेसम्म रवि त्रिभुवन विमानस्थलमै रोकिएका थिए । उडान ढिलाइले गर्दा उच्च अदालतले पूर्व रिहाइका लागि दिएको आदेश कार्यान्वयन गर्न समेत विलम्ब भएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरले बिहीबार जमानत अनुमति दिएको थियो । तर, त्यसका लागि जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्ता छन् रविलाई उच्च अदालतका पाँच शर्तः
–२०८१ माघ १३ गते जिल्ला अदालतले मागेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्नुपर्ने ।
–बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ सुरक्षित गर्नुपर्ने ।
–विदेश यात्रा भएमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने ।
–जिल्ला अदालतको मिति २०८२ साउन २६ को आदेशलाई बदर गर्नुपर्ने ।
–फैसला अनुसार बिगो रकम तिर्ने र आवश्यक कागजात बुझाउनु पर्ने ।

सुप्रिम सहकारी ठगी मुद्दामा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ भने १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको आरोप रवि र उनका निकटतम प्रतिवादीमाथि छ । रविले आफ्नो जिम्मेवारी भाग गरेर मात्र रिहाइको माग गरेका हुन् । रवि लामिछानेको ढिला उडान, अदालत प्रक्रिया र जमानतका जटिल शर्तले राजनीतिक र कानुनी दुनियाँमा चासोका विषय बनेको छ । आजको दिनका लागि तय गरिएको रिहाइ अझै सम्भव देखिँदैन ।

 

 

 

 

रुपन्देही लगिन लागेका रवि काठमाडौंमै किन रोकिए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा जाने भनिए पनि अहिलेसम्म काठमाडौंमै रोकिएका छन् । शुक्रबार बिहानदेखि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान टर्मिनलमै रोकिएको हो । विमानस्थलमा रोकिनुको कारण भैरहवाको खराब मौसम रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

लामिछाने उच्च अदालत, बुटवलको आदेशपछि धरौटीमा रिहा भएका हुन् । बिहीबार अदालतले उनलाई थुना बाहिर बसेरै मुद्दा लड्न पाउने अनुमति दिएको थियो । त्यसपछि उनी शुक्रबार बिहान ७ः५५ बजे जहाजमार्फत भैरहवा जाने तयारीमा थिए, तर मौसम खराब भएकाले उडान स्थगित भएको हो । उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार, जेलबाट रिहा भए लगत्तै लामिछाने सिधै चितवन जान लागेका छन् । शनिबार चितवनको चौबिसकोटीमा विशेष सम्बोधन कार्यक्रम राखिएको छ । कार्यक्रम सम्पन्न भएपछि मात्र उनी काठमाडौँ फर्किने योजना रहेको न्यौपानेले बताए ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । लामिछानेले आफूलाई लागेको बिगोको रकम बैंक ग्यारेन्टी मार्फत बुझाएर उच्च अदालतमा रिहा गर्न निवेदन दिएका थिए । उच्च अदालत बुटवल इजलासले धरौटी रकम बुझाएपछि रिहा गर्न आदेश दिएको थियो । रिहा हुने क्रममा उनीले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी बुझाउनु पर्नेछ । अदालतमा उपस्थित हुन र चितवनको कार्यक्रम पूरा गर्न लामिछानेले अहिलेसम्म काठमाडौँमै रोकिनुपरेको हो । अधिकारीहरूले मौसम सुधार भएपश्चात उडान हुने अपेक्षा व्यक्त गरेका छन् ।

 

 

रवि लामिछानेलाई रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । ’उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,’ अदालतका रजिस्ट्रार अमित उप्रेतीले भने । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानत वापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

रवि र छविको मुद्दा आज पनि किन भयो स्थगित ?

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज (बिहीबार) पनि स्थगित भएको छ । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले सुनुवाइ अघि बढाउन नमिल्ने भएको कुँवरले जानकारी दिएका छन् ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ देखि लगातार सारिँदै आएको छ । यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिएर पेसी सारिएको थियो भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो । लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् ।

 

 

 

 

 

रवि लामिछानेको मुद्दामा आज पेशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइमा आज (बिहीबार) पेशी तोकिएको छ । मंसिर ११ गते तोकिएको पेशी लामिछानेकै कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि आजलाई पेशी तोकिएको हो । पेशी तोकिए पनि इजलासमा चढ्ने–नचढ्ने टुंगो नलागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । बारको अधिवेशनका कारण पटक गणना नहुने गरी सम्बन्धित पक्षका कानून व्यवसायीबाट अनुरोध भए पेशी हटाउन बारबाट अनुरोध आएको अदालतले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहिबारको पेशी कात्तिक १३ गतेपछिको निरन्तर सरिरहेको छ । लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् ।

रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगे सुदन गुरुङ

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उनी कारागार पुगेका हुन् । गुरुङ र लामिछानेबीच करिब एक घण्टा भेटवार्ता हुने जनाइएको छ । वैकल्पिक शक्तिहरू बीच एकताका लागि वार्ता गर्न आफू रवि भेट्न गएको गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार गुरुङले आज २ बजेका लागि सभापति लामिछानेसँग भेट गर्न समय माग गरेका थिए । गुरुङको आग्रह र लामिछानेको सहमति पछि भेट तय भएको आचार्यले बताए । जेनजी अभियन्ता गुरुङले बालेन र कुलमानको एकता पछि अब रवि लामिछानेसँग पनि वैकल्पि

रवि लामिछानेसँग जाँचबुझ आयोगले सोधपुछ गर्दै

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो ।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने नख्खु कारागार प्रशासन स्रोतले जनाएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए । आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

रवि लामिछाने कारागारबाट निस्किने बेला पत्र बुझ्ने म हुँ, फेक होइन : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका आफ्ना सभापति रवि लामिछानेले कारागारबाट पाएको पत्र नक्कली नभएको दाबी गरेका छन् । उनले आफू लामिछाने जेलबाट निस्कने बेलाको साक्षी भएको भन्दै त्यो पत्र बुझ्ने पनि आफै भएको बताएका छन् ।

अर्यालले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु । पत्र बुझ्ने म हुँ, पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन, हतार र हतासमा बेहोराहरू तलमाथि भएको हुन सक्छन्, मिति हामीले सच्याएको होइन । सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ । यस्ता पत्रहरू कम्प्युटरमा भएकै बेहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान् । कुरा त्यति हो ।’

गृह मन्त्रालयलगायत सम्बन्धित सबै नकाियसँग समन्वय गर्ने आफू भएकाले त्यो पत्रका विषयमा सभापति लामिछानेलाई कुनै जानकारी नभएको जिकिर पनि रास्वपाका कार्यवाहक सभापति अर्यालले गरेका छन् ।

‘गृह मन्त्रालयलगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ । यसमा सभापति ज्यूलाई केही जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु । कोही भ्रममा नपर्नुस् । पार्टी सभापतिलाई जेलले निस्क भन्यो । उहाँले पत्र माग्नुभयो । हामीले समन्वय गर्‍यौँ, यसमा उहाँको के दोष ? एकतर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन । १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो । समयमा सभापति ज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ । दुनियाँले देखेको छ, उहाँ भाग्नु भएको होइन’, उनले भनेका छन्, ‘हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नक्खु कारागारको अवस्था ठिक छैन । त्यसैले सीडीओलगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौं । बोलाउने बित्तिकै आउँछौँ भनेर भनेका छौं ।’

जेलबाट निस्केपछि रविले भने–देश जेनजीको माग र परिकल्पनामा चल्छ, राष्ट्रका सम्पति बचाउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेलबाट निस्किए लगतै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन् । उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै तीन पुस्तालाई लुटेर जोडेको आरोप लगाएका छन् ।

‘सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने, ‘यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पत्ति यिनको होइन, देशको तीन पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन। बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ ।’

उनले संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी रहेको पनि उल्लेख गरेका छन् । मुलुकको नेतृत्व जेन जीकै मागअनुसार र जेन जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो रिहाइ कानुनबमोजिम भएको पनि उल्लेख गरेका छन् ।

‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सीधै आम नागरिकसामु आउन पाएको हुँ,’ उनले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।’ रविको अपिल उनकी श्रीमती निकिता पौडेलको फेसबुकबाट जारी भएको छ ।

हेर्नुस् रविको अपिल

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ ।

राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

 

रवि लामिछानेलाई कारागारबाट निकालियो

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बाहिर निकालिएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् । रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए ।

नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका थिए । ‘कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएका छौं,’ उनले भने । ‘हामी सुरक्षा गर्न सक्दैनौं । तपाईंहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने । उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन् । रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन् ।