`

जेलबाट निस्केपछि रविले भने–देश जेनजीको माग र परिकल्पनामा चल्छ, राष्ट्रका सम्पति बचाउ

Nepal One HD २४ भदौ २०८२ १९:४३
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेलबाट निस्किए लगतै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन् । उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै तीन पुस्तालाई लुटेर जोडेको आरोप लगाएका छन् ।

‘सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने, ‘यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पत्ति यिनको होइन, देशको तीन पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन। बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ ।’

उनले संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी रहेको पनि उल्लेख गरेका छन् । मुलुकको नेतृत्व जेन जीकै मागअनुसार र जेन जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो रिहाइ कानुनबमोजिम भएको पनि उल्लेख गरेका छन् ।

‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सीधै आम नागरिकसामु आउन पाएको हुँ,’ उनले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।’ रविको अपिल उनकी श्रीमती निकिता पौडेलको फेसबुकबाट जारी भएको छ ।

हेर्नुस् रविको अपिल

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनु हुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ ।

राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *