`

गनेरै नभ्याइने मुद्दा र अत्याचारको गुन तिर्दै जानेछु : रवि लामिछाने

Nepal One HD ६ माघ २०८२ १८:००
बिशेष

काठमाडौं । देशभर प्रतिनिधिसभा उपनिर्वाचनको चहलपहल बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने अदालत धाइरहनु परेको भन्दै भावुक अभिव्यक्ति दिएका छन् । उम्मेदवारी मनोनयनको उत्साहमा आफू पूर्ण रूपमा मिसिन नसकेको उनले बताएका छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा एकैसाथ सुनुवाइ भइरहेको छ । यही कारणले उनले चितवन–२ बाट आफैं उपस्थित हुन नसकी वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । पर्सा जिल्ला अदालतले भने उनलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने बाँकी दुई जिल्लामा सुनुवाइ प्रक्रिया जारी छ ।

अदालतबाट बाहिरिँदै लामिछानेले निर्वाचनको माहोलबारे प्रतिक्रिया दिँदै भने, ‘देश निर्वाचनमय छ, मनोनयन दर्ताको रौनक छ । तर आजै तीन वटा अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेकाले म त्यो उत्साहमा मिसिन सकिरहेको छैन ।’ चितवन–२ मा शुभेच्छुकहरू बाटो कुरिरहेको उल्लेख गर्दै उनले सम्भव भएसम्म आफैं पुग्ने प्रयास गरे पनि नसक्दा वारेसमार्फत उम्मेदवारी दिएको स्पष्ट पारे ।

लामिछाने यसअघि पनि चितवन–२ बाट निर्वाचित भइसकेका नेता हुन् । नागरिकता विवादका कारण पद गुमेपछि भएको उपनिर्वाचनमा उनले पुनः जित हासिल गरेका थिए । तर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण दोस्रो पटक पनि सांसद पद गुमाउनु परेको थियो । पछिल्लो उपनिर्वाचनमा पुनः चितवन–२ बाट मैदानमा उत्रिँदै उनले आफूविरुद्ध योजनाबद्ध रूपमा मुद्दा लगाइएको आरोप लगाएका छन् ।

आक्रोशपूर्ण अभिव्यक्तिमा उनले भने, ‘सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दा लगाइयो । यो अत्याचार हो ।’ आफूविरुद्ध भएको व्यवहारलाई ‘पाप र अन्याय’ को संज्ञा दिँदै उनले यसको हिसाब नेपाली जनताले निर्वाचनमार्फत दिने दाबी गरे । ‘फागुन २१ मा जनता घण्टी बजाएर जवाफ दिनेछन्’, उनको भनाइ थियो ।

लामिछानेले आफूलाई चारैतिरबाट घेराबन्दी गरिएको महसुस भएको पनि बताए । ‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरिएको अत्याचारका कारण तिमीहरू रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ’, भन्दै उनले प्रतिशोधको राजनीति नगर्ने तर न्यायिक र राजनीतिक रूपमा जवाफ दिने चेतावनी दिए । तीन जिल्लामा एकैसाथ चलिरहेका मुद्दा, अदालत धाइरहनुपर्ने बाध्यता र त्यसबीचमा उपनिर्वाचनको तयारी—यी सबैले रवि लामिछानेको यो चुनावी यात्रा असामान्य बनेको छ । अब चितवन–२ का मतदाताले उनको राजनीतिक भविष्यबारे कस्तो निर्णय गर्छन् भन्ने चासो बढ्दै गएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *