`

रवि लामिछाने कारागारबाट निस्किने बेला पत्र बुझ्ने म हुँ, फेक होइन : डीपी अर्याल

Nepal One HD २८ भदौ २०८२ ७:१८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका आफ्ना सभापति रवि लामिछानेले कारागारबाट पाएको पत्र नक्कली नभएको दाबी गरेका छन् । उनले आफू लामिछाने जेलबाट निस्कने बेलाको साक्षी भएको भन्दै त्यो पत्र बुझ्ने पनि आफै भएको बताएका छन् ।

अर्यालले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु । पत्र बुझ्ने म हुँ, पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन, हतार र हतासमा बेहोराहरू तलमाथि भएको हुन सक्छन्, मिति हामीले सच्याएको होइन । सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ । यस्ता पत्रहरू कम्प्युटरमा भएकै बेहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान् । कुरा त्यति हो ।’

गृह मन्त्रालयलगायत सम्बन्धित सबै नकाियसँग समन्वय गर्ने आफू भएकाले त्यो पत्रका विषयमा सभापति लामिछानेलाई कुनै जानकारी नभएको जिकिर पनि रास्वपाका कार्यवाहक सभापति अर्यालले गरेका छन् ।

‘गृह मन्त्रालयलगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ । यसमा सभापति ज्यूलाई केही जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु । कोही भ्रममा नपर्नुस् । पार्टी सभापतिलाई जेलले निस्क भन्यो । उहाँले पत्र माग्नुभयो । हामीले समन्वय गर्‍यौँ, यसमा उहाँको के दोष ? एकतर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन । १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो । समयमा सभापति ज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ । दुनियाँले देखेको छ, उहाँ भाग्नु भएको होइन’, उनले भनेका छन्, ‘हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नक्खु कारागारको अवस्था ठिक छैन । त्यसैले सीडीओलगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौं । बोलाउने बित्तिकै आउँछौँ भनेर भनेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *