`

रवि–बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्–कथाको सुखद सुरुवात भएको छ

Nepal One HD ८ पुष २०८२ ७:२६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ताले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । दुवै नेताबीच भएको छलफल सकारात्मक रहेको र यसले सहकार्यको संकेत दिएको उनीहरू निकट नेताहरूले बताएका छन् ।

गए राति रास्वपा नेता असिम साहको म्युजिक कम्पनी ‘जी–२१’ को कार्यालयमा रवि र बालेनबीच भेट भएको हो । भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए, जसलाई प्रतिकात्मक रूपमा पनि हेरिएको छ । यस भेटवार्ताको प्रबन्ध मिलाएका असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र देशको हितका लागि मिलेर अघि बढ्नुपर्ने विषयमा कुराकानी केन्द्रित थियो ।

भेटमा के–के विषयमा छलफल भयो भन्ने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । तर यो भेटलाई दुई फरक धारका लोकप्रिय नेताबीच समझदारी र सहकार्यको सुरुवातका रूपमा व्याख्या गरिएको छ । असिम साहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘रवि र बालेन मिलेर अघि बढ्नु पर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश स्पष्ट छ—दुई जना मिलेर जाने हो, अब अगाडि बढ्ने हो ।’

साहले सामाजिक सञ्जालमार्फत पनि भेटलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनासम्बन्धी आरोपमा लामो समय कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रवि लामिछाने यतिबेला राजनीतिक भेटघाट र पार्टीगत गतिविधिमा सक्रिय देखिएका छन् । बालेन साहसँगको यो भेटलाई त्यसै सिलसिलामा आएको महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ ।लोकप्रियता र फरक शैलीका कारण आ–आफ्नै स्थान बनाएका रवि र बालेनबीचको यो संवादले आगामी दिनमा सहकार्यको बाटो खोल्ने अपेक्षा गरिएको छ । औपचारिक घोषणाभन्दा अघि नै आएको यो भेटले कम्तीमा पनि नेपाली राजनीतिमा संवाद र सहमतिका सम्भावनाहरू अझ बलियो बनाएको सन्देश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *