रवि लामिछानेलाई कारागारबाट निकालियो


काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बाहिर निकालिएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् । रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए ।
नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका थिए । ‘कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएका छौं,’ उनले भने । ‘हामी सुरक्षा गर्न सक्दैनौं । तपाईंहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने । उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन् । रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन् ।