ओलीले भने–रविलाई गुन लगाएको थिएँ, रविको व्यङग्य–अदालत धाएर तिर्दैछु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको भन्दै व्यङग्य गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन् ।
अदालत परिसरबाट बाहिरिने क्रममा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नु भएको रहेछ । उहाँले कहाँ–कहाँ गुन लगाउनु भएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानु पर्नेछ ।’ आफूमाथि लगाइएका विभिन्न मुद्दाहरूको सामना गरिरहेको सन्दर्भ जोड्दै लामिछानेले यसलाई ‘गुन तिर्ने’ प्रक्रियाका रूपमा अथ्र्याएका हुन् । उनले भने, ‘अरूलाई त मलाई जस्तो मुद्दा लाग्दैन । म सायद सबैभन्दा धेरै मुद्दा लागेको मान्छे हुन सक्छु । गुन तिर्ने क्रममा म काठमाडौं जिल्ला अदाल हाजिर हुन आएँ । अब ओलीको गुन तिर्न सबै जिल्लामा जानुपर्ने छ ।’
केही दिनअघि एक अन्तर्वार्ताका क्रममा निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा गुन लगाएको तर लामिछानेले अनावश्यक दुश्मनी गरेको बताएका थिए । ओलीले भनेका थिए, ‘मैले रवि लामिछानेलाई गुन लगाएको थिएँ । उनले मसँग अनावश्यक दुश्मनी गरे । किन गरे थाहा छैन, भेट हुँदा सोध्छु ।’
सोही अन्तर्वार्तामा ओलीले आगामी निर्वाचनमा नयाँ दलहरूको खासै प्रभाव नहुने दाबी समेत गरेका थिए । हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिले पनि चौथो वा पाँचौँ शक्ति पनि बन्न नसक्ने ओलीको टिप्पणी थियो । उनले नयाँ शक्तिहरूलाई सूर्यलाई टिपेर खान खोज्ने बच्चा जस्तै भएको बताउँदै उनीहरूको हैसियत दशौँ–बाह्रौँ हुन सक्ने बताएका थिए । लामिछाने सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाउन पुगेका हुन् । हिरासतबाट रिहा भएपछि उनलाई विभिन्न जिल्लाका अदालतहरूमा विचाराधीन मुद्दाहरूको तारिख तथा अदालती प्रक्रियाका लागि पुग्नुपर्ने हुन्छ । हिजो मात्र लामिछाने साढे आठ महिनापछि सभापतिकै हैसियतमा पार्टी कार्यालय भित्रिएका थिए ।
