बालेनसँग वार्ता सकेर बाहिरिए रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरी बाहिरिएका छन् । ललितपुरको ज्वागलस्थित मेयर साहका निकट सहयोगी कुमार बेनको निवासमा भएको उक्त छलफल करिब एक घण्टा चलेको बताइएको छ । छलफलपछि सञ्चारकर्मीहरूको घेरामा परेका लामिछानेले वार्ताबारे कुनै स्पष्ट प्रतिक्रिया दिन चाहेनन् । वार्ताको विषयवस्तुबारे सोधिएको प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ लामिछानेको यो अभिव्यक्तिले भेटवार्ताको महत्व र भित्री सन्देशबारे थप चासो बढाएको छ।
यद्यपि, रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भने भेटवार्ताको एजेण्डाबारे केही संकेत दिएका छन् । उनका अनुसार बालेन साह र रवि लामिछानेबीच आगामी दिनमा कसरी सहकार्य गर्ने, विशेषगरी चुनावी समन्वय र मिलेर अघि बढ्ने सम्भावनाबारे छलफल भएको थियो । राजनीतिक रूपमा स्वतन्त्र पहिचान बनाएका मेयर बालेन साह र नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै नेताले सार्वजनिक रूपमा मौनता अपनाए पनि, यो भेटले आगामी राजनीतिक समीकरणमा नयाँ संकेत दिन सक्ने आँकलन गरिएको छ । हालका लागि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि, बालेन–रवि संवादलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेरिने निश्चित देखिन्छ ।
