कुलमानको राजीनामाबारे रवि : अब सहमतिलाई औपचारिकता दिन्छौं
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङका सम्बन्धमा पार्टीले अब औपचारिक निर्णय गर्ने बताएका छन् । आज (बिहीबार) चितवनमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले कुलमानलाई पार्टीको उपसभापति बनाउने सहमतिलाई औपचारिकता दिने बताएका हुन् । ‘कुलमानजीले बल्ल राजीनामा दिएर आउनु भएको छ । सहमतिलाई पार्टीले औपचारिकता दिने काम अब शुरू हुन्छ,’ लामिछानेले भने ।
समानुपातिकको बन्दसूची पेश गर्ने दिन रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता भएको थियो । बुधवार मन्त्रीबाट राजीनामा गरेपछिको पत्रकार सम्मेलनमा घिसिङले रास्वपामा जाने÷नजानेबारे स्पष्ट गरेका थिएनन् । उनले आफ्नो स्वाभिमान बिर्सेर राजनीति नगर्ने बताएका थिए । उज्यालो नेपालका उम्मेदवारले रास्वपाबाटै बन्दसूची पेश गरे पनि कुलमान रास्वपाको कार्यक्रममा सहभागी भएका छैनन् ।
