एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
काठमाडौँ, ४ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ । सचिवालयमा १९ पदाधिकारी र केन्द्रीय आयोगका अध्यक्ष रहनेछन् ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको आजको बैठकले कार्यविभाजनका लागि सचिवालयलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो, स्थायी कमिटी गठन, कार्ययोजनालगायत छलफल गर्न यही पुस २६ देखि २८ गतेसम्म केन्द्रीय कमिटीको दोस्रो बैठक तोकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले पार्टीको गत भदौमा भएको दोस्रो विधान महाधिवेशनबाट पारित नीति र कार्यक्रमलाई कार्यान्वयन गर्दै टोलटोलसम्म पार्टी पुग्नुपर्नेमा जोड दिएको छ ।
उपमहासचिव भट्टले ११औँ महाधिवेशनबाट संशोधित विधानलाई आवश्यक सम्पादनसहित एक हप्ताभित्र प्रकाशन गर्ने, केन्द्रीय पदाधिकारीमा नरहेका र सदस्यमा पराजितलगायतलाई केन्द्रीय सल्लाहकार परिषद्मा समेट्ने निर्णय पनि भएको जानकारी दिनुभयो ।
बैठकले महाधिवेशन सम्पन्न गर्न योगदान गर्ने आयोजक समिति र सम्बन्धित सबैलाई आभार व्यक्त गरेको छभने केन्द्रीय नेतृत्वमा उम्मेदवारी नदिई बिदाइ भएकाहरूलाई उहाँहरूको योगदानको सम्मान गरेको छ ।
भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्र नयाँ नेतृत्व निर्वाचित गर्दै पुस ३ गते औपचारिक समापन भएको थियो । यसैबीच, एमालेको केन्द्रीय अनुशासन आयोगको पहिले बैठक पनि आजै सम्पन्न भएको छ ।
