मधेसको सभामुख बन्न यी दुई जनाले दिए उम्मेदवारी
काठमाडौं । मधेस प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलिय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्, प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिएका छन् ।
जसपा नेपालको प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा(माओवादी केन्द्र)का फकिरा महतो समर्थक रहेको छ । सभामुख उम्मेदवारी दर्ता अघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यता त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रश्तावक तथा जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन् । सभामुख उम्मेदवारी दर्ता अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
