सुदन र मिराजलाई रक्षा बमको चुनौती : चुरा लगाएका हातलाई कमजोर ठान्ने भुल नगर्नू
काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले सरकारविरुद्ध प्रदर्शनको घोषणा गर्नुअघि नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सार्वजनिक टिप्पणी गर्दै आन्दोलनभित्र उठिरहेका धारणा र नेताहरूका अभिव्यक्तिप्रति तीखो प्रतिक्रिया जनाएकी छन् । उनले संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारको मागलाई समयसापेक्ष नभएको ठहर गर्दै देशलाई नयाँ जनादेशमार्फत अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै बमले सुदन गुरुङले केही दिनअघि दिएको टेलिभिजन अन्तर्वार्ताको प्रसंग उठाएकी छन् । उनका अनुसार सेप्टेम्बर ८ मा भएको आन्दोलनमा सहभागी नदेखिएका एक जेनजी अभियन्ताले अन्तरिम सरकारलाई ‘कामचोर’ भन्दै संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारको विकल्प अघि सारेका छन् । यस्तै, अर्का एक जेनजी नेताले पनि कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा उस्तै प्रस्ताव राख्दै आफूहरूलाई रोक्ने आँट कसैसँग नभएको शैलीमा अभिव्यक्ति दिएको उनले उल्लेख गरेकी छन् ।
रक्षाले वर्तमान राजनीतिक अवस्थालाई अघिल्लो चरणमा फर्काउने प्रयास खतरनाक हुने चेतावनी दिँदै संसद पुनर्स्थापनाको बहसभन्दा देशले नयाँ राजनीतिक कोर्स रोजिसकेको तर्क प्रस्तुत गरेकी छन् । उनका अनुसार अब पश्चगामी बाटो रोज्नुको सट्टा नयाँ जनादेश लिएर नयाँ संसद गठन गर्दै मुलुकलाई निकास दिनु आवश्यक छ, जसबाट जनताका वास्तविक मुद्दाहरू सम्बोधन हुन सक्छन् । उनले देशलाई यस समयमा स्पष्ट राजनीतिक प्रक्रिया आवश्यक रहेको बताउँदै कसैको निजी स्वार्थ पूरा गर्ने खेलमा राजनीतिक वा रणनीतिक गोटी बन्न नहुने धारणा राखेकी छन् । शान्ति र सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड छ ।
आफ्नो टिप्पणीको अन्त्यतिर रक्षाले महिलामाथि लक्षित अभिव्यक्ति र सोचप्रति कडा असहमति जनाएकी छन् । उनले चुरा लगाएका हातलाई कमजोरी ठान्ने पितृसत्तावादी सोच त्याग्न आग्रह गर्दै परिवर्तनका प्रत्येक आन्दोलनमा महिलाको योगदान स्मरण गर्न आग्रह गरेकी छन् । ‘मेरा यी चुरा लगाएका दुवै हात गलत कुकृत्यविरुद्ध निरन्तर उठिरहेका छन्,’ उनले लेखेकी छन्, ‘स्त्रीद्वेषी टिप्पणी छाड्नुस् र भदौ २८, २०८२ मा चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा ढोगिएको क्षण सम्झनुस् ।’ जेनजी आन्दोलनभित्रै बढ्दो वैचारिक टकरावका बीच रक्षाको यो अभिव्यक्तिले राजनीतिक निकास, नेतृत्व र लैंगिक दृष्टिकोणबारे बहसलाई अझ तीव्र बनाएको छ ।

