`

विपद् व्यवस्थापनमा ‘पूर्वकार्य’ सरकारको प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

Nepal One HD ७ पुष २०८२ ११:२६
प्रमुख खबर

काठमाडौं । सरकारले विपद् व्यवस्थापनलाई परम्परागत प्रतिकार्य केन्द्रित अभ्यासबाट बाहिर निकाल्दै पूर्व तयारी, पूर्व सूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत र प्रभावकारी बनाउने दिशामा अघि बढिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट गरेका छन् । सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपाल उच्च जोखिमयुक्त बहुप्रकोपिय मुलुक भएकाले विपद् आउनु अघि नै तयारी गर्ने अभ्यासलाई बलियो बनाउनु अपरिहार्य रहेको बताए । उनले जोखिमको स्पष्ट पहिचान, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली बिना पूर्वकार्य सफल हुन नसक्ने उल्लेख गरे ।

गृहमन्त्री अर्यालका अनुसार पूर्वसूचना जारी भएपछि तुरुन्त सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिल्यै व्यवस्थित गरिएको स्रोत–साधन पूर्वकार्यका मुख्य आधार हुन् । यस्ता संयन्त्र तयार अवस्थामा हुँदा संकटको समयमा ढिलाइ नगरी तत्काल काम गर्न सकिने उनको भनाइ छ । ‘विपद् पूर्व तयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्ध छ’, उनले भने ।

नेपाल बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्यधिक गर्मी, शीतलहर तथा महामारी जस्ता जल तथा मौसमजन्य प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले जलवायु परिवर्तनका कारण यस्ता जोखिम अझ अनिश्चित, तीव्र र बारम्बार देखिन थालेको बताए। यी विपद्जन्य घटनाका कारण मुलुकले हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नु परिरहेको उनले स्मरण गराए । गृहमन्त्री अर्यालले सरकार, विकास साझेदार, निजी क्षेत्र र समुदायबीचको सहकार्यलाई सुदृढ गर्दै जोखिम न्यूनीकरण र पूर्वकार्यलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइने संकेत पनि गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *