`

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपदमा मिलेको सफलता

काठमाडौं । पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरुपता कायम गर्न सकेको अवस्थामा प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने पुष्टयाइँ यस वर्षको मनुसन पूर्व योजना र प्रतिकार्यको तयारीबाट स्पष्ट भएको छ ।विपद्को अवस्थामा सरोकारवालाबीच समन्वय, सहयोग र सहकार्य प्रभावकारी हुँदा विगतका तुलनामा यसवर्ष विपद्बाट हुने क्षति न्यूनीकरणमा सफलता मिलेको नेपाली सेनाले जनाएको छ ।

विपद्को स्वरुप र अघिल्लो वर्षको विपद् व्यवस्थापनको अनुभवका आधारमा तयार गरिएको मनसुन पूर्व तयारी र प्रतिकार्य योजनाको कार्यान्वयनबाट क्षति न्यूनीकरण गर्न सकिएको सेनाको विपद् व्यवस्थापन निर्देशन विष्णुकुमार खड्का बताउँछन् । ‘नेपाल हरेक प्रकारका प्राकृतिक प्रकोपका हिसाबले जोखिममा छ, मनसुन पूर्व तयारी र प्रतिकार्य योजना, विगतको सिकाइ र भोगाइसँगै तीन तहका सरकारबीच भएको समन्वयले यसवर्ष जनधनको क्षति न्यून गर्न सकिएको हो’, उनले भने ।

यस वर्षको मनसुनमा बाढी, पहिरोलगायत विभिन्न किसिमका मनसुनजन्य विपद् प्रतिकार्यको लागि १६३ स्थानमा जम्मा चार हजार ७२३ जना फौज खट्टिइ विपद् व्यवस्थापनमा सहयोग पु¥याइएको सेनाले जनाएको छ । सेनासँगै अग्रमोर्चामा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथै तीनै तहका सरकारको सहयोग तथा समन्वयमा यसपटक विपद् व्यवस्थापन गरिएको थियो ।

राजमार्गमा यातायात रोकिएको तथा सार्वजनिक बिदाका कारण पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सेनाको ठम्याइँ छ । सेनाले गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका घटनामा १८ जिल्लाबाट एक हजार ८२ जनालाई सकुशल उद्धार गरेको थियो । इलाम र झापामा बाढी तथा पहिरोमा फसेका २३ जनाको सैनिक हवाई साधनमार्फत उद्धार गरिएको थियो । कोशी प्रदेश सरकारको अनुरोधमा इलामको माङ्सेवुङ गाउँपालिकाको गजुरमुखी क्षेत्रमा ७९४ किलो राहत सामग्री ढुवानी गरिएको छ। इलाममा हाल पनि विपद् व्यवस्थापनको कार्य भइरहेको सेनाले जनाएको छ ।

गत वैशाख १ देखि असोज १९ गतेसम्म बाढी, पहिरो, भारी वर्षा, डुबान, चट्याङलगायत चार हजार ६५ विपद्का घटनामा २८५ जनाको मृत्यु, २७ बेपत्ता र एक हजार ७२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्षको मनसुन रसुवा र इलाम बढी प्रभावित भएका थिए । सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरी पुनःस्थापना र पुनःनिर्माणको काम अघि बढाएको छ । इलाममा मात्रै पहिरोमा परी ३८ जनाको मृत्यु भएको थियो । नेपालबाट यस वर्षको मनसुन गत असोज २४ गतेदेखि बाहिरिसकेको छ ।

गतवर्ष २५१ स्थानमा भएको डढेलो तथा २०२ स्थानमा भएको आगलागी नियन्त्रणका लागि १० हजार ६६३ फौज खटिएका थिए। यस्तै महाकाली नदीमा नदीजन्य पदार्थ व्यवस्थापन गरी सम्भावित क्षति न्यूनीकरण गर्न महाकालीको पूर्वतर्फ २५२ मिटर लामो तटबन्ध, पश्चिमतर्फ दुई हजार ६०० मिटर र मध्य भागमा ५२५ मिटर लम्बाइको च्यानल बनाइएको सेनाले जनाएको छ । सेनाले स्वदेशमा मात्र नभई म्यानमारमा पुगी गत चैत्रको भूकम्पपछि प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेनाको टोलीले एक हजार ३५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

 

नेपाल सुन्दर छ, विपदको जोखिम पनि उच्च छ : गृहमन्त्री अर्याल

ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरता विना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उहाँले सरकार सबैको समन्वय, सहकार्य र सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री अर्यालले भने, ‘नेपाल विपद् संवेदनशील क्षेत्रमा रहेको छ, भौगोलिक रूपमा सुन्दरका साथै त्यतिकै विपद्को उच्च जोखिममा पनि छ, हालै भएको विपद्का कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको छ, यसका कारण विकासको गति समेत अवरुद्ध हुँदै आएको तथ्य हामीसामु छ, विगतका ठूला भूकम्प र बाढी पहिरोले हामीलाई विपद् जोखिम न्यूनीकरणका लागि व्यवस्थाको महत्त्वको आवश्यकता महसुस गराउँदै आएको छ, सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।’
गृहमन्त्री अर्यालले विपद्लाई प्रकृतिमा मात्रै नभई सामाजिक, संरचनात्मक एवं नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताए । उनले केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि थुप्रै संयन्त्र क्रियाशील छन् ती सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक दिनेश भट्टले विपद् व्यवस्थापनका क्षेत्रमा सरकारले गर्ने कामलाई प्रभावकारी र विश्वसनीय आवश्यक रहेको बताए । उनले पछिल्लो समय प्राकृतिक विपद् बढ्दै गएकाले त्यसलाई रोक्नका लागि विकास निर्माणका कार्यलाई विपद् व्यवस्थापनका अवधारणालाई ध्यान दिएर अगाडि बढाउनु पर्नेमा जोड दिए ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले विपद्सम्बन्धी पूर्वसूचना, समुदायमा आधारित समाधानका लागि असल अभ्यासको आदानप्रदान, लैङ्गिकमैत्री समाधानका लागि यो सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । इसिमोडका महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले यस सम्मेलन विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा महत्वपूर्ण प्रविधिको उपयोगका लागि चेताना अभिवृद्धि, स्रोतको व्यवस्थापनका साथै परिचालनका विषयमा जानकारी र विपद् पूर्वतयारीका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गर्नुपर्ने बताए ।
रोशनकुमारी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि विपद् जोखिमको आंकलन र जोखिम न्यूनीकरणमा ज्ञान, सीप र दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । सम्मेलनले नीतिनिर्माता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरू र सामुदायिक नेताहरूका लागि अनुभवहरू साझा गर्न, नवीन अभ्यासहरू र नेपाल  बाहिरका विपद् जोखिम व्यवस्थापनबाट सिकेका पाठहरू साझा गर्न नेपालको प्रमुख प्लेटफर्मका रूपमा काम गर्ने जानकारी गराइएको छ । आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

विपद संकटग्रस्त घोषित इलामको स्थलगत अवलोनलमा मन्त्री घिसिङ

इलाम । भौतिक योजना तथा पुनर्निर्माण मन्त्री कुलमान घिसिङ शनिबार बाढी–पहिरो प्रभावित इलामको अवलोकनमा पुगेका छन् । हालैको भीषण वर्षापछि इलामका विभिन्न स्थानमा व्यापक जनधनको क्षति भएपछि सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्री घिसिङ प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षणमा बिहान झापा हुँदै इलामतिर प्रस्थान गरेको झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनाए । मन्त्री घिसिङले इलाम १० राजदुवालीका बाढी पीडितलाई भेट्ने र राहत वितरण गर्ने कार्यक्रम छ ।

त्यस्तै राजदुवाली सडक, मिल घुम्ति लगायत क्षेत्रको सडक अवलोकन गर्ने कार्यक्रम छ । मन्त्री घिसिङले इलाम नगरपालिका–१० राजदुवाली, सन्दकपुर, माईजोगमाई लगायतका प्रभावित बस्तीहरूमा पुगेर स्थानीयवासीसँग क्षतिग्रस्त संरचना, सडक, पुल–पुलेसा र राहत व्यवस्थाको स्थिति बुझ्ने बताइएको छ ।

उनले प्रभावित नागरिकलाई राहत, पुनर्वास र पुनर्निर्माणमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सरकार प्रभावित नागरिकसँगै छ । तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ’, मन्त्री घिसिङले बताएका छन् । स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी र सुरक्षाकर्मीहरू पनि मन्त्रीको टोलीसँगै रहेका थिए । बाढी र पहिरोका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ । दर्जनौं सडक भासिएका छन् । दर्जनौं बस्ती जोखिममा परेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।

इलाम विपद संकटग्रस्त जिल्ला घोषित

काठमाडौं । सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले इलामले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । गत असोज १८ र १८ गतेको बाढी पहिरोबाट इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । बाढीपहिरोमा परि मात्रै ३९ जनाको मृत्यु भएको थियो । बाढी–पहिरोबाट मानवीय साथै ठूलो भौतिक क्षति समेत भएको थियो ।

विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो ।

बैठकमा बाढी–पहिरोबाट आइपरेको विपत्तिका विषयमा छलफल हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जनाएका छन् । बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ ।

बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।

असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाकोृ ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ ।

बैठकमा अर्थमन्त्री, ऊर्जामन्त्री, गृहमन्त्री, उद्योगमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ । साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् ।

विपद व्यवस्थापनको सारथी : पूर्व सूचना, प्रतिकार्य र पूर्व तयारी

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए। निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला ।
यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको समेत जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो ।
त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुशरण गर्दै विपद् व्यवस्थापनको पूर्व तयारीका लागि जुट्न थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सोमबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन तीन दिनसम्म रोक्ने निर्णय गर्‍यो।
यस निर्णयले यस पटक बाढी–पहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङले सरकारको पूर्वतयारीका कारण भौतिक पूर्वाधारमा क्षति भए पनि विगतमा जस्तो सडकमा यात्रा गरिरहेका यात्रुहरूको धनजनको क्षति हुन नपाएको बताए ।
गत वर्षको असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुबाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो । रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको थियो ।
गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा गर्न नहुने भन्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता गर्‍यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारीसाधन बन्द गर्न सके । यस वर्षजस्तो न त कडाइका साथ सवारीसाधन आवागमनमा रोक लगाइयो । गत वर्ष सरकार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व तयारीमा चुकेको सम्बन्धित विज्ञहरुले टिप्पणी गरेका थिए ।
गत वर्षको असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौँ उपत्यकाको अधिकांश भाग डुबाउनमा परेको थियो । यहाँका बासिन्दाले नसोचेको विपद् बेहोर्नुपर्‍यो । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै पनि कयौँलाई तर्साइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।
गत असार २८ गते पनि नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको डेब्रिज बहावका कारण सडकमा गुडिरहेका दुई वटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीको मनमस्तिष्कमा नमीठो सम्झना बनेर रहेको छ । यस पटक सरकारको राम्रो पूर्व तयारीका कारण  अप्रिय घटनाहरू हुन पाएन ।
पूर्व सूचनाको वेवास्ता गर्दा मानवीय क्षति
जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै भारीदेखि अति भारी वर्षाका कारण बाढी–पहिरो जस्ता धनजनको क्षति हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । विभागले दिएको पूर्व सूचना बेवास्ता नगरेको भए लाङ्टाङमा पदयात्राका लागि निस्किएका भक्तपुरका चार जना बेपत्ता हुने थिएनन् ।
पदयात्रा त पछि पनि जान सकिन्थ्यो नि । खतरा छ भन्ने सूचना आउँदा आउँदै त्यसरी घरबाट निस्किनु हुन्थेन । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा भक्तपुर जिल्ला ठिमी नगरपालिका–३ का २५ वर्षीय संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीय सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ वेपत्ता छन् । यस्ता अप्रिय घटनाका उदाहरणले अब भने सबैलाई पाठ सिकाओस् ।
पहिरोको पनि पूर्वसूचना आवश्यक
जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव पर्ने सम्भावित क्षेत्रहरूमा पूर्व सूचना दिएर सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा बस्न सहयोग गर्‍यो । तर बाढीको जस्तै पहिरोको पनि पूर्व सूचना प्रणालीको विकास नभएकै कारण पछिल्ला वर्षहरूमा पहिरोबाट हुने धनजनको क्षति बढ्दै गएको बताउँछन्, पहिरोविद् डा. सुवोध ढकाल ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ जना, माङ्सेवुङ गाउँपालिका–१ मा तीन, देउमाई नगरपालिका–५ मा आठ, जोगमाई गाउँपालिकामा आठ, सन्दकपुर गाउँपालिकामा छ र फाकफोकथुम गाउँपालिकामा एक जनाको ज्यान गएको उनले जानकारी दिए ।
पहिरोविद् ढकालले पहिरोको जोखिम न्यूनीकरण गर्न पहिरो जानसक्ने स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने, त्यस्ता स्थानमा नबस्न सूचना दिनुपर्ने, पहिरोको पूर्व सूचनामा राज्यको लगानी बढाउनुपर्ने, समयमा खोज तथा उद्दार कार्यलाई प्राथमिकता दिनुपर्ने, जथाभावी रूपमा खनिने सडक पूर्वाधार रोक्नुपर्ने, वातावरणमैत्री विकासमा जोड दिनुपर्ने, पहिरो रोकथामका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।
‘नेपाल जस्तो भौगोलिक मुलुकमा पहिरोको वर्षेनी जोखिम छ । कतिपय स्थानमा पुराना पहिरोमा बस्ती बसेका छन् । पुराना पहिरो दोहोरिएर जाने सम्भावना हुन्छ । तसर्थ, पहिरोको जोखिम भएको बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ’, उनले भने, ‘सडक यातायात आवागमनमा रोक लगाएर अझ ठूलो क्षति हुन पाएन । दीर्घकालीन समाधानका लागि जोखिम भएका स्थानमा सुरुङ निर्माण गर्नुपर्छ । नेपाल जस्तो मुलुकमा सुरुङमार्ग उचित विकल्प हो ।’
प्राधिकरणको तथ्याङ्क अनुसार गतवर्षको वैशाख १ गतेदेखि चैत १२ गतेसम्मको तथ्याङ्क हेर्दा पहिरोका कारण तीन सय ५९ जनाले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र दुई सय ८७ जना घाइते भएका छन् । सो अवधिमा तीन हजार छ सय ९२ घर आंशिक र दुई हजार १३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण ४० पुलमा क्षति पुगेको छ ।
त्यसैगरी, बाढीका कारण ९७ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन् । भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका छन् भने ३८ जना घाइते भएका छन् । हावाहुरीका कारण सात जनाको मृत्यु र ४२ जना घाइते भएका छन् । हिउँपहिरोका कारण एक जना बेपत्ता भएका छन् । पहिरोको पूर्वसूचना नभएकै कारण क्षति बढी भएको प्राधिकरणको भनाइ छ ।
विगतको घटनाबाट पाठ सिकेर अघि बढेका छौं : प्राधिकरण
गत वर्षको असोजमा मुलुकले बाढी, पहिरो र डुबानको अप्रिय घटना सामना गर्नुपर्‍यो । राजधानीकै जनताको समयमा उद्धार हुन सकेन । पूर्व सूचना प्राप्त भए पनि अन्तरसरकारी निकायबीचको समन्वयको अभाव देखियो । पूर्व तयारी पर्याप्त थिएन । त्यसबेला सरकारले आलोचना समेत खेप्नुपरेको थियो ।
उक्त घटनाबाट पाठ सिक्दै यस वर्ष मनसुन सुरु हुनुअघि नै पूर्वतयारी र प्रतिकार्यका लागि अगाडि बढेको बताउँछन्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट । ‘विगतमा पूर्वतयारी राम्रो नहुनु भनेकै हाम्रा लागि पाठ थियो ।
गत वर्ष किन सकिएन ? कसरी काम गर्न सकिन्थ्यो ? समीक्षा गरेर यो वर्ष हामीले प्रतिकार्य कार्ययोजना बनाएका थियौँ, जहाँ विगतका कमजोरीहरूलाई केलाएका थियौँ’, उनले भने, ‘गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको थियो ।कार्ययोजनाको एउटा अध्याय नै असोजको सिकाइ के रह्यो भनेर समीक्षा गरिएको छ ।’ यस वर्ष अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला सङ्घसंस्थाबीचको राम्रो समन्वयका कारण विपद् व्यवस्थापन सहज भएको भट्टको भनाइ छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो थियो प्राधिकरणको तयारी
प्राधिकरणका कार्यकारी समिति अध्यक्ष समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने निर्देशन दिए ।
सम्भावित विपद्लाई मध्यनजर गर्दै गृहमन्त्री अर्यालको संयोजकत्वमा गृहसचिव रामेश्वर, गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू, चारै सुरक्षा निकायका प्रमुख एवं विपद् ‘फोकल पर्सन’, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई ‘भर्चुअल’ बैठकमा बोलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
प्राधिकरणले एकद्वार नीति अनुसार पूर्वतयारी, खोज तथा उद्धार सम्बद्ध कार्यमा जोड दिएको थियो । केन्द्र र जिल्लामा मनसुन प्रतिकार्य कमाण्ड पोस्टहरू सक्रिय बनाई सम्भावित विपद् व्यवस्थापन गर्न निर्देशन जारी गरिएको थियो । मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार जिम्मेवार सबै निकाय क्रियाशील हुन निर्देशन दिइएको थियो ।
जोखिमपूर्ण क्षेत्रमा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइयो । त्यसैगरी, सर्वसाधारणलगायत सबैलाई असोज १७ देखि २० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सावधान गराउने, खोज तथा उद्धारका लागि सबै सुरक्षा निकाय, स्वयंसेवकलगायतका संयन्त्रहरू तयारी अवस्थामा राख्ने निर्णय भयो ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र चौबीसै घण्टा पूर्णरूपमा क्रियाशील राखी आपत्कालीन गोदामघरहरू तत्काल प्रयोगमा आउन सक्ने गरी तयारी अवस्थामा राखियो । प्राधिकरणले सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुङ्गासम्बन्धी संघ–संस्था तथा निजी क्षेत्रसँग समझदारी बढायो ।
६५ लाखभन्दा बढी निःशुल्क बाढी पूर्व सूचनासम्बन्धी एसएमएस
जल तथा मौसम विज्ञान विभागले बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि गत शनिबार र आइतबार दुई दिनको अवधिमा करिब ६५ लाख १६ हजार बढी पूर्वसूचना प्रवाह गर्दै प्रभावित क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायलाई मोबाइल एसएमएस पठाएको बताउँछन् विभागका बाढीविद् बिनोद पराजुली ।
‘दुई दिनको अवधिमा नेपाल टेलिकम र एनसेलमार्फत करिब ६५ लाख १६ हजार एसएमएस प्रवाह गरिएको छ’, उनले भने, ‘बाढीको पूर्वसूचनाका आधारमा सर्वसाधारणले समयमा नै सुरक्षित स्थानमा बस्न पाउनुभयो । पछिल्ला वर्षहरूमा पूर्वसूचनाको प्रभावकै कारण बस्तीमा बाढीबाट मानवीय क्षति कम हुन थालेको छ । अझै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।’
विज्ञ भन्छन् : यस पटक सरकारको विपद्जन्य पूर्व तयारी राम्रो देखियो
विपद् व्यवस्थापनविद्हरूले यस पटक मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकारले गरेको पूर्व तयारीका कार्य राम्रो देखिएको बताएका छन् । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले विपद्का समयमा हुने धनजनको क्षति न्यूनीकरणका लागि सरकारले थालेको तयारी र पूर्वसूचना सम्प्रेषण विगतको तुलनामा यसपटक राम्रो देखिएको भन्दै प्रशंसा गरे ।
‘गत वर्ष पनि मौसमविद्हरूले ठूलो वर्षा हुने र बाढी–पहिरोको जोखिम रहने पूर्वानुमान गरेकै थिए । तर यातायात मात्रै सञ्चालन हुन नदिएको भए त्यति धेरै क्षति हुन पाउँदैनथ्यो’, उनले भने, ‘यस पटक यातायात बन्द गरेर राम्रो भएको छ । आगामी दिनमा पनि यसरी नै आवश्यक पूर्वतयारीका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय बढाउन आवश्यक छ ।’
डिपिनेटका अध्यक्ष डा. राजु थापाले सम्भावित विपद्लाई ध्यानमा राखेर सरकारले विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रसँग सहकार्यमा पूर्वतयारी एवं उद्धार कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरेको बताउँदै आगामी दिनमा पनि सामूहिक प्रयासबाटै यस्ता विपद््हरुबाट सुरक्षित हुन सकिनेछ भने । यसैगरी सर्वसाधारणले पनि सरकारले दिएको निर्देशन पालना गरेर सुरक्षित रहन सकेमा भविष्यमा यस्ता विपद्बाट हुनसक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिने उनको तर्क छ ।

विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा नरोक्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा नरोक्न निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर, बाढी–पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।

मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन् । विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्छ ।’

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पनि विपद्जन्य अवस्था नरहेकाले अब सेवा निरन्तर गर्नुपर्ने उनले बताए । शुक्रबारदेखि भीषण वर्षा भएपछि सरकारले सम्भावित विपद्लाई मध्यनजर गरी आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको थियो । तर, आइतबारबाट मौसममा सुधार हुन थालेपछि सोमबारको बिदा कटौती गरेको हो ।

काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडकमा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमन रोक लगाउन आग्रह गरेको छ ।

प्राधिकरणले भारीदेखि अतिभारी वर्षाका कारण नदी खोलामा पानीको सतह बढ्ने र सडक डुबानको जोखिम बढ्ने सम्भावना रहेकाले यस्तो आग्रह गरेको हो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई करिडोर सडकमा आवश्यक अनुसार सवारी आवागमन रोक लगाउन अनुरोध गरिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।

आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ ।

‘सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक) मा आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ’, प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

विपद उद्धारका लागि तयारी अवस्थामा रहन मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

आफूले नेतृत्व गरेका मन्त्रालय तथा मातहतका निकायका प्रमुखहरूसँग आज भएको छलफलमा उनले सडक, सिँचाइ सञ्जाल र ‘हाइड्रोपावर’ का संरचनालाई बाढी पहिरोबाट जोगाउन तत्काल पहल गर्नुपर्नेमा जोड दिएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

आज साँझदेखि आइतबार बिहानसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मन्त्री घिसिङले भौतिक पूर्वाधार संरक्षणका निम्ति बजेट अभाव देखाएर पन्छिन नहुने बताए ।

विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी
गए रातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरप्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी समेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार गए रातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौँलगायत देशका अधिकांश स्थानको अवस्था संवेदनशील रहेको छ ।

काठमाडौँको हकमा भने नगर प्रहरी परिचालन गरी सकिएको छ भने आवश्यकताअनुसार अन्य तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए । महानगरले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर नजान आग्रह गरेको छ ।

महानगरका जनप्रतिनिधि सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको पनि जनाइएको छ । विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्न बोरामा ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको जोशीले बताए ।

विपद जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गरी उनले उक्त निर्देशन दिएका हुन् ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात् यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोत साधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए ।

सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन उनले निर्देशन पनि दिए । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्यकता र भावी योजनालगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

विपदजन्य घटनाबाट जोगिन आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैसँग अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै सो कार्यालयले यस किसिमको सूचना जारी गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकको जिउधनको सुरक्षालाई दृष्टिगत गरी आगामी सोमबारसम्म अति जरुरी काम नपरी टाढाको दुरीमा र रातिको समयमा यात्रा नगर्न तथा नदी एवं खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरिएको जानकारी दिए ।

यसैगरी आगामी सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयमतापूर्वक सवारीसाधन सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी एवं सवारी चालकको समेत कास्की प्रशासनले ध्यानाकर्षण गरेको छ ।

यसै सन्दर्भमा बिरेठाँटीदेखि घान्द्रुक तथा उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ–सिक्लेस जाने सवारीसाधन शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि दिउँसो चार बजेभित्र छुटिसक्ने व्यवस्था मिलाइएको छ । सोही मार्गबाट फर्कने सवारीसाधनलाई शनिबार बिहान ५ बजेपछि मात्र छुट्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाललगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकाय र स्थानीय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

स्थानीय तह, रेडक्रससहित साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाजलगायत सरोकार भएका सबै पक्षलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सचेत गरिएको छ । कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ ।

विपद व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन् ।

आज असोज १७ देखि असोज २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेकाले विपद् व्यवस्थापन बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

बिहीबार मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए ।

सम्भावित विपद्लाई ध्यान दिई गृहमन्त्री अर्यालको उपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागितामा भर्चुअल बैठक गरिएको हो । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थित थिए ।